माइक्रोबस दुर्घटना : ‘ब्रेक फेल’को आशंका, ७ भारतीय नागरिकको मृत्यु

गोरखा, चैत २ — गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिबार राति भएको माइक्रोबस दुर्घटनामा सात जना भारतीय नागरिकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

बा.प्र.०१–००६ ख ८४३० नम्बरको माइक्रोबस मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेर आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार माइक्रोबसमा १६ जना सवार थिए। प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनाको कारण ब्रेक फेल भएको आशंका गरिएको छ।

दुर्घटनामा परी करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीय सिवगामी, ५७ वर्षीय विजायल, ५८ वर्षीया मीना र ६० वर्षीय तमिलारसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते नौ जनालाई उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ल्याइएको छ। अस्पतालका चिकित्सक डा. सुदीप केसीका अनुसार घाइतेमध्ये पाँच जनाको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ।

माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी सकुशल रहेका छन् भने सहचालक बेँसीसहर नगरपालिका–३ का २९ वर्षीय सन्तोष गुरुङ घाइते भएका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सेयर गर्नुहोस्