चितवन । चितवनमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण तथा स्वास्थ्य शिविर सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरिक्षक खड्कबहादुर खत्री र चितवन चेम्बर अफ कर्मशका अध्यक्ष गोपाल भट्टराईले संयुक्त रुपमा सवारी दुर्घटना न्यूनिकरण गर्ने स्टिकर टाँस गरि कार्यक्रमको उद्धघाटन गरेका थिए । ट्राफिक साताव्यापी अभियानको रुपमा गरिने परीक्षण तथा स्वास्थ्य शिविरलाई पुरानो मेडिकल कलेज र चितवन अटो मेकानिकल व्यवसायी संघले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन ट्राफिक प्रमुख सुरेश सुवेदीका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा चितवन चेम्बर अफ कर्मशको संयुक्त आयोजनामा पूर्व पश्चिम राजमार्गमा गुड्ने सबैखाले सवारीसाधनको भरतपुर केनिद्रय बसपार्कमा यान्त्रिक परीक्षण थालिएको हो ।
यान्त्रिक परीक्षणअन्तर्गत आज सोमबार मात्रै आधा दर्जन बढी सवारीहरुमा भने खराबी भेट्टिएको र पूर्ण रूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको छ । सवारी नियम उल्लङ्घन गर्ने सयौँ सवारीधनी कारबाहीमा परिसकेको ट्राफिक प्रमुख सुवेदीले जानकारी दिए ।