काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्।
उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए।
‘सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु,’ उनले भने।
उनले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताए।
क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ।
बलात्कारको अभियोग झेलिरहेका सन्दीपलाई बुधबार उच्च अदालत पाटनले सफाइ दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो। सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको क्यानले जनाएको छ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएसँगै क्यानले उनलाई निलम्बन गरेको थियो। तर जिल्लाको फैसला उल्ट्याउँदै उच्च अदालतले उनलाई सफाइ दिएको हो।
निलम्बन फुकुवासँगै क्यानले सन्दीपलाई आईसीसी टी२० विश्वकप खेल्न अमेरिका पठाउने तयारी समेत गरेको छ।