पहिचान नखुलेको रोगबाट मौरी मर्न थालेपछि बाग्लुङको जैमिनीका किसान चिन्तित भएका छन् । मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका जैमिनी नगरपालिका–१० व्याडथलाका याम थापा अहिले चिन्तित हुनुहुन्छ ।
२०७४ सालदेखि मौरीपालन गर्दै आउनुभएका उहाँको मौरीका घार रित्तिन थालेपछि व्यवसाय नै सङ्कटमा परेको छ । थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्न थालेपछि अहिले घार नै रित्तिन लागेको हो ।
उहाँ केही वर्ष यता बङ्गुरपालन छोडेर मौरीपालनमा लाग्नुभएको थियो । तर ४० घार मौरी मरेपछि व्यवसाय सङ्कटमा परेको उहाँले बताउनुभयो । छ वर्षदेखि मौरीपालन गर्दै आउनुभएका थापाले मौरीपालनबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्नुभएको थियो । सेरेना जातको मौरी पाल्दै आउनुभएका उहाँले एक किलो मह एक हजार पाँच सय रुपैयाँमा घरबाटै बिक्री गर्दै आउनुभएको थियो ।
थापाले मौरीपालनसँगै चार वटा मुर्रा जातको भैँसीसमेत पाल्दै आउनुभएको छ । मौरीको बीमा नगर्दा घाटा परेको उहाँले स्वीकार्नुभयो । उहाँले राज्यले दिने अनुदान र सहुलियत झन्झटिलो भएको गुनासो गर्नुभयो । मौरी मर्नुको कारण थाहा नभएको उहाँको भनाइ छ ।
पछिल्लो समय बागलुङमा मौरीपालन व्यावसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन बढेपछि मौरीको बीमा कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले कतिपय किसानले बीमा नवीकरण नगर्दा समस्या भएको बताउनुभयो ।