अविरल वर्षा र बाढी पहिरोका कारण प्रदर्शन स्थगित गरिएका दुई नेपाली फिल्म ‘आँखा’ र ‘सानो संसार’ले राजधानी शहर काठमाडौंमा बसेर गुजारा गरिरहेका निम्न र मध्यम वर्गका दुई परिवारको कथा मार्फत सामान्य मानिसको जीवनका दु:खसुख, सपना, अल्झो र अल्झन के छन्- उनीहरुको सपनामा कसरी तुषारो परिरहेको छ भन्ने दर्शाउनुका साथै वर्गको महत्व कति व्यापक छ भन्ने पनि देखाइदिएका छन्।
बागमती किनारको एउटा सुकुम्वासी बस्तीमा भर्खरै एक नवजोडी विवाह गरेर आएका छन्। निलो पालले छोपेको छाना, टिनको ढोका, तन्नाका टुक्राटाक्रीले बेरेको कोठाको भित्ता, केही भाँडाकुँडा, ग्याँस चुलो, एउटा सुत्ने खाट र कुहिएको चामल। यो सुकुम्बासी टोलको पालले छोपेको झुपडीको पनि भाडा तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर, यो जोडीलाई उनीहरुको घरमा स्वागत गर्ने पहिलो मानिस यो झुपडीको मालिक हो। आत्म ज्ञान र ज्योतिको कुरा गर्ने यही ‘घरबेटी’ले तीन महिनाको भाडा तिर्न बाँकी रहेको कुरा सुनाउँछ।
काठमाडौंका साना गल्लीमा फोहोर उठाउने काम गर्ने रवीन्द्र यतिन्जेल एक्लै जेनतेन बाँचिरहेका थिए। अब बिहेपछि उनलाई दुइटा ज्यान पाल्नु छ। गाउँबाट पहिलो पटक काठमाडौं आएकी सरितालाई आफू भित्रिएको कोठा कोठा जस्तो लागेको छैन। लागोस् पनि कसरी — बागमतीको फोहोरको गन्ध, दिनरात रक्सीको मातमा श्रीमती कुटिरहने छिमेकी, यत्रतत्र प्वाल परेका पाल, उडुसले लिप्त ओछ्यान, जाम भइरहने फोहोर शौचालय र असुरक्षित बसाई। ‘गृहप्रवेश’पछि सरिताको मनमा उब्जिने पहिलो प्रश्नले उनलाई सोध्छ– ‘यस्तो ठाउँमा बसिरह्यो भने भविष्य के हुन्छ- सन्तानको के हुन्छ !’