काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् ।
‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ लामिछानेले भनेका थिए । आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई आइपर्ने उनको तर्क थियो ।‘मलाई पक्राउ गर्न सक्छ भन्ने संकेत मैले पनि पाएको छु । यसमा सबैले साथ दिनुपर्यो भन्ने रविको निवेदन थियो’, बैठकमा सहभागी एक नेताले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी रहेको ब्रिफिङ गरेका थिए । बिहीबार मात्र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्ताका आधारमा प्रचण्डले रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए । प्रचण्डको ब्रिफिङमा सहमत लामिछानेले पक्राउ परिने संभावनाबारे जानकारी रहेको बताउँदै विपक्षीहरुको साथ मागेका थिए ।
बैठकमा सहभागी ती नेताका अनुसार बैठकले रवि लामिछानेको विषयमा कुनै निष्कर्ष भने निकालेन । ‘प्रचण्ड र रवि लामिछानेले कुरा राख्नुभयो, तर अरु नेताहरुले केही बोल्नुभएन । बैठक त्यसै सकियो’, ती नेताले भने ।
यो बैठकमा रास्वपाबाट ६ जना नेता सहभागी थिए ।