चितवनमा २२ सय बढीमा डेङ्गु सङ्क्रमण, भरतपुर महानगरमा ७५७ जना सङ्क्रमित

चितवन

चितवनमा दुई हजार २०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ४६९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये एक हजार ७२८ जना चितवनका हुन् भने बाँकी ५६७ जना बाहिरी जिल्लाका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । भरतपुर महानगरमा हालसम्म ७५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए । यस्तै, इच्छाकामना गाउँपालिकामा हालसम्म ४४८ जनामा डेङ्गु देखिएको छ । उनले भने, “डेङ्गुको सङ्क्रमण भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रमा बढी छ ।” सङ्क्रमण बढेसँगै सङ्क्रमित सबै क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।

जनस्वास्थ्य कार्यालय चितवनले अद्यावधिक गरेको दैनिक प्रतिवेदनअनुसार रत्ननगर नगरपालिकामा ३२३, खैरहनीमा ८८, कालिकामा ५०, राप्तीमा ४४ र माडीमा १८ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । जनस्वास्थ्य कार्यालयले सरकारी अस्पतालहरु र निजी अस्पताल र पोलिक्लिनिकहरुबाट आएको तथ्याङ्कका आधारमा हरेक दिन २४ घन्टामा विवरण अद्यावधिक गर्ने गरेको छ । चितवनमा डेङ्गुबाट यस आर्थिक वर्षमा एक जनाको मृत्यु भएको छ ।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । जसमध्ये २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यङ्की, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । डेङ्गु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छन् ।

यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो ।

सेयर गर्नुहोस्