अमेरिकामा डोनाल्ड ट्रम्पको रोचक पुनरागमन

२ पुस, वासिंटन ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनरागमन गर्दैछन् । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा पपुलर भोटमार्फत विजयी भएका ट्रम्प औपचारिक रूपमा निर्वाचित हुन इलेक्टोर मत हासिल गर्न बाँकी छ । डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन गर्न सफल भए ।यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए ।

उनी सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएका थिए । तर, सन् १८८८ मा भएको निर्वाचनमा उनी पराजित भए । सन् १८९२ मा भएको निर्वाचनमा भने उनी फेरि राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।त्यस यता वा त्योभन्दा अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यस्तो सफलता हात पार्न सकेका थिएनन् । १३२ वर्षपछि डोनाल्ड ट्रम्प उक्त इतिहास दोहोर्‍याउन सफल हुँदैछन् ।ट्रम्प पहिलो पटक सन् २०१६ मा अमेरिकी राष्ट्रपति बनेका थिए । त्यतिबेला उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।

सन् २०२० मा भएको निर्वाचनमा ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित भए । सन् २०२४ मा भने ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पपुलर मतमा पराजित गरेका छन् । यद्यपि, इलेक्टोरल मतमार्फत निर्वाचित नभइ अमेरिकाको नयाँ राष्ट्रपति चयन प्रक्रियाको औपचारिकता पूरा भएको मानिने छैन ।

सेयर गर्नुहोस्