मदन भण्डारी इन्डो नेपाल भलिबल प्रतियोगिता आजदेखि

भैरहवा, पुस १७ गते ।

मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उदघाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री जाने कार्यक्रम तय भए पनि उहाँ व्यस्त हुनु भएपछि अर्थमन्त्री पौडेलले उदघाटन गर्नुहुने आयोजकले जनाएको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा आजदेखि बुटवलमा मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । काठमाडौं बाहिर हालसम्मकै सर्वाधिक पुरस्कार राशीसहितको यो प्रतियोगितामा विदेशी क्लब तथा नेपालको क्लबबाट समेत गरी आठ समूहको सहभागिता रहनेछ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवल –१२ रामनगरस्थित खेलमैदानमा कार्यतालिकाको पहिलो इभेन्ट आयोजना गर्न लागिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले सात लाख रुपियाँ नगद राशीसहित रनिङशिल्ड प्राप्त गर्नेछ । उपविजेता टिमले नगद तीन लाख ५० हजार, तृतीय टिमले नगद एक लाख ७५ हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधागत रुपमा जनही १० हजार नगद राशी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएएफ क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब, भारतको गुजरात स्टेट भलिबल एशोसिएशन, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरी आठ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

लिग कम नकआउटका आधारमा पुस २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आकर्षक ट्रफी सार्वजनिक गरिएको छ । एक कार्यक्रमबिच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य लिला गिरी, एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गर्नुभएको थियो । १५ केजी तौल भएको ट्रफीमा लुम्बिनी र पर्यटनलाई उजागर गर्नेगरी अशोका स्तम्भ मायादेवी मन्दिर र शान्ति दीपसहित तयार पारिएको छ ।

सेयर गर्नुहोस्