काठमाडौं ।
नेपाल प्रहरीमा दुईजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को पद रिक्त भएको छ । एआईजी किरण बज्राचार्य र भरतबहादुर बोहराले अवकाश पाएसँगै दुई पद रिक्त भएको हो ।
बज्राचार्यले मंगलबार र बोहराले आइतबार अवकाश पाएका हुन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बुधबार बिदाइ गरेको थियो । एआईजीको ५६ वर्षे उमेर हदका कारण उनीहरूले अवकाश पाएका हुन् ।
उपत्यका प्रहरीको कमान्ड सम्हालेकी बज्राचार्यले अवकाश पाएसँगै अर्का एआईजी टेकप्रसाद तामाङले उपत्यकाको कमान्ड सम्हालेका छन् ।प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुख तामाङलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपत्यका प्रहरी प्रमुखको जिम्मा दिएको हो ।
यसरी नै गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुर प्रमुख (एसएसपी), त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख र उपत्यका ट्राफिक प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । ललितपुरका एसएसपी शेखर खनालाई सरुवा गरेर अर्का एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाएको छ ।
यसरी नै ट्राफिक प्रमुखमा एसएसपी विनोद घिमिरे र विमानस्थल प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौर पठाएको छ । यसअघि, उपत्यका ट्राफिक कार्यालय र विमानस्थल प्रमुखमा डीआईजीले कमानन्ड सम्हादै आएका थिए ।
अहिले पनि एसएसपीले नै कमाण्ड गर्ने गरी उनीहरुलाई जिम्मा दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।






