२४ देखि ऐतिहासिक निसान पदयात्रा

इलाम, पुस १७ गते । 

नेपाल एकीकरणताका पूूर्वी सीमाना वियज गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ । आगामी पुस २४ गतेदेखि पुस २६ सम्म निसान पदयात्राको तयारी थालिएको हो ।

तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौलीसन्धीपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । नेपाल–भारत पूर्वी सीमाना मेची बजारबाट २४ गते विहान पदयात्रा सुरु गरिने पदयात्रा आयोजक समितिले जनाएको छ ।

सीमावर्ती क्षेत्र मेची बजारबाट सुरु भएको पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णे डाँडामा आउने छ । पुस २५ गते पूूर्णे डाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजक इलाम नगरपालिकाका वडा सदस्य विमल वैद्यले जानकारी दिनुुभयो ।

उद्घाटनपछि पुनः सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाइको नामासालिङस्थित हात्तीटार आउने जनाइएको छ । २६ गते विहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माइस्थानमा आउने वैद्यले जानकारी दिनुुभयो ।

पदयात्रामा करिब एकसय पदयात्री सहभागी हुने जनाइएको छ । इलाम नगरपालिका, सूूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रुपमा पदयात्रा आयोजना गरेका हुन् । यो पदयात्राले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको इतिहासलाई सम्झाउने र इलामको पर्यटकीय क्षेत्रमा एउटा नयाँ गन्तव्य तय गर्ने इलामका इतिहासकार युुद्धप्रसाद वैद्य बताउनुहुन्छ ।

त्यसबेला पूूर्वी सिमाना टिस्टानजिक नागरिगडीबाट फर्काइएको निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको इतिहास छ । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माइथानमा ल्याइएको इतिहास रहेको वैद्यको भनाइ छ । निसान पदमार्ग करिब ४२ किलोमिटर रहेको छ ।

सेयर गर्नुहोस्