काठमाडौं ।
स्याङ्जाको सिरुबारी नेपालकै पहिलो होमस्टे हो। वि.सं. २०५४ सालमा आदिखोला गाउँपालिका-१ मा सिरुबारी होमस्टे सञ्चालनमा आएको हो।भारतीय सेनाका क्याप्टेन रुद्रमानको परिकल्पना एवं अगुवाइमा होम स्टे शुभारम्भ गरिएको थियो। यहाँ बसोबार गर्ने अधिकांश मानिस भारतीय सेनामा कार्यरत रहेका थिए।
गुरुङ कुनै बखत भारतीय सेनामा क्याप्टेन हुँदा सिक्किम पुगेका थिए। त्यहाँ उनले होमस्टे देखे। त्यसले उनको मन तानेको थियो। पर्यटक भित्र्याउने नयाँ शैली लागेको थियो।त्यसपछि गुरुङले स्याङ्जाको पर्यटकीय विकासमा काम गर्ने सोच बनाए। स्थानीयको सहयोगमा २०५४ मा होमस्टे सुरु भयो।
सिरुबारी समुन्द्री सतहबाट १ हजार ६१० मिटर उचाइमा पर्दछ। अहिले सिरुबारीलाई पछ्याउँदै देशका विभिन्न स्थानमा थुप्रै होमस्टे सञ्चानमा छन्।
सिरुबारी उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एकमा पर्दछ। कक्षा १० का विद्यार्थीलाई सिरुबारी होमस्टे लगेका काठमाडौंको नयाँ बानेश्वरस्थित भ्यालि भ्यु स्कुलका प्रिन्सिपल सुभाषचन्द्र भण्डारी निकै मनोरम गन्तव्य भएको बताउँछन्।
गुरूङ जीवनशैली, संस्कृति, आथित्यता र आत्मीयताका त्यहाँको प्रमुख आकर्षण भएको उनले बताए। सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो लर्कन देख्न सकिने उनी बताउँछन्।







