लेखा समिति सभापतिका स्वकीय सचिवविरुद्ध ठगी आरोप, पदबाट निष्कासन

१९ पुस, काठमाडौं ।

सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोप लागेको छ । यो विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् ।

सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्धको उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले ३८ लाख रुपैयाँ लिएको आरोप चौधरीको छ ।

सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका हुन् ।

उनीमाथि लागेका आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा पत्रमा छ । साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।

नेकपा एमालेको मोरङ जिल्ला कमिटी सदस्य समेत रहेका अनिल २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।

सेयर गर्नुहोस्