कालीकोट, पुस २१ गते ।
जिल्लाको पचालझरना गाउँपालिकामा एक हप्तामा बिभिन्न घटनाका कारण पाँच जना नागरिकले ज्यान गुमाएका छन । पचालझरना गाउँपालिका भित्र एकपछि अर्को गरी पाँच पाँच जनाको ज्यान गएको हो ।
गाउँपालिकाको वडा ४ का वर्ष ६० का श्रीकला ऐडीले कर्णाली नदीमा हाम फालेर आत्माहत्या गरेपछि लगातार उहाँ लगायत पाँच जनाले बिभिन्न घटनामा परी ज्यान गुमाएका हुन् । वडा ४ का तीन जना, वडा ९ का एक जना र वडा ८ का एक जना नदीमा बेपत्ता गरी पाँच जनाको ज्यान गएको हो ।
पचालझरना गाउँपालिकाले सार्वजनिक गरेको शोक बक्तब्यमा वडा ४ का श्रीकला ऐडीले नदीमा हाम फालेर ज्यान गुमाएको, महनबिर सेजुवालको भिरबाट लडेर ज्यान गएको, मंसिरा रोकायाको हृदयघातका कारण ज्यान गएको उल्लेख छ । गाउँपालिका अध्यक्ष देवराज शाहीद्वारा हस्ताक्षरित शोक बक्तब्यमा वडा ९ का कर्णवहादुर शाहीको च्याट्याङ लागेर ज्यान गएको छ । वडा ८ का वर्ष ४० का कुस्माखर सञ्ज्याल कर्णाली नदीमा बेपत्ता हुनुभएको छ ।
अध्यक्ष शाहीले बिभिन्न घटनामा ज्यान गुमाउनेप्रति श्रदाञ्जली अर्पण गर्दै बेपत्ताको खोजीका लागि सबै निकायसँग अनुरोध गर्नुभएको छ । गत शनिवार कर्णाली नदीमा स्काभेटर (जेसीबी) तार्दा कर्णाली नदीमा स्काभेटरसहित सञ्ज्याल बेपत्ता हुनु भएको थियो । बेपता सञ्ज्यालको अवस्था अझै अज्ञात छ । पचालझरना गाउँपालिका वडा ८ का सामाजिक अभियान्ता प्रकाशवहादुर शाहीले यस्तो घटनाले सबैलाई दुखित बनाएको बताउनुभयो ।






