५ माघ, काठमाडौं ।
खो खो खेल त्यति चर्चित खेल होइन । यसबारे नेपालमा यसअघि खासै चर्चा भएको पनि थिएन । तर पछिल्ला केही दिनदेखि खो खो खेलको चर्चा व्यापक छ । नहोस् पनि किन भारतमा भईरहेको पहिलो खो खो विश्वकपमा नेपालले सानदार प्रदर्शन गरिरहेको छ ।
नेपालको पुरुष र महिला टोलीले सेमिफाइनल यात्रा तय गरिसकेको छ । अझ नेपालको महिला टोलीले त अपराजित रहँदै अन्तिम चारको स्थान बनाएको हो । पुरूष टोली भने पहिलो खेलमा आयोजक भारतसँग पराजित चएपनि त्यसयता लगातार जिच हात पार्दै सेमिफाइनल पुगेको हो ।
कुनै हल्ला नगरिकन एक महिना क्लोज क्याम्प राखेर भारतको नयाँ दिल्ली पुगेको नेपाली खो खो टोलीले विश्वकपमा सन्सनी मच्चाउँदा अहिले समग्र नेपाली खेल जगतमा यसको चर्चा धेरै छ ।खो खो विश्वकप नै पहिलो पटक भएको हो र त्यसमा नेपालको प्रदर्शन प्रशंसायोग्य छ । अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपमा यो स्तरको प्रदर्शन गरेको यो पहिलोपटक हो ।
नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनल खो खो खेलको लागि यो विश्वकप ऐतिहासिक अवसर भएको बताए । ‘खो खो खेल एउटा हराइरहेको खेल जस्तो थियो । हामी प्रयास गरिरहेका थियाैँ । अहिले विश्वकपमा नेपाली टिमले जुन किसिमले प्रदर्शन गरिरहेको छ यसले खो खो खेल पनि रहेछ भनेर चिनाइरहेको छ’ महर्जनले नयाँ दिल्लीबाट अनलाइनखबरसँग कुराकानीमा भने, ‘नेपाली टिमको प्रदर्शनबाट खो खो खेल चिन्ने र चिनाउने अवसर मिलेको छ ।’
सेमिफाइनललाई तयार नेपाल
खो खो विश्वकप २०८१ अन्तर्गत शनिबार सेमिफाइनल खेलहरु खेल हुँदैछ । नेपालको दुवै सेमिफाइनल शनिबार हुँदैछ । आयोजक भारतसहित नेपाल र दक्षिण अफ्रिकाको दुवै टोली सेमिफाइनल पुगेका छन् । सेमिफाइनल पुग्ने अर्को दुई टोली हुन् युगान्डा र इरान ।
महिलातर्फ सेमिफाइनलमा नेपालले युगान्डासँग खेल्नेछ । यस्तै पुरूषतर्फ नेपालको भेट सेमिफाइनलमा इरानसँग हुनेछ । अर्को दुवै सेमिफाइनलमा भारत र दक्षिण अफ्रिका भिड्नेछन् । भारतको महिला र पुरूष दुवै टोली अपराजित छ ।
महिलातर्फ नेपाल र युगान्डाबीचको पहिलो सेमिफाइनल ४:३० बजे सुरु हुनेछ । युगाण्डाले न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
यस्तै पुरूषतर्फ नेपाल र इरानबीचको पहिलो सेमिफाइनल ५:४५ बजे सुरु हुनेछ । इरानले केन्यालाई हराएर सेमिफाइनल पुगेको हो ।
महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो । नेपालले क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
यसैगरी पुरूषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो । क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
महिला र पुरूष दुवैमा सेमिफाइनल जितेर फाइनल पुग्ने लक्ष्य रहेको खो खो संघका अध्यक्ष महर्जनले बताए । ‘विश्वकपमा सेमिफाइनलसम्म पुग्नु भनेको खो खो टिम मात्र नभएर सम्पूर्ण नेपालीको लागि गाैरवको कुरा हो । सेमिफाइनल जितेर फाइनलमा भारतलाई कडा टक्कर दिने हाम्रो लक्ष्य छ’ उनले भने ।
नेपाली खेलाडीहरु एकदम उत्साहित रहेको र नेपालको लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित रहेको बताए ।