बैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद

नेपालगन्ज, माघ ६ गते । 

बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा बैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ ।

राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरुको करिब २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा नामसारी गरिएको वैकुण्ठधाम निर्माण समितिका संयोजक डा.शुरेस कुमार कनोडियाले बताउनुभयो । उहाँका अनुसार १ बिगाहा ६ कठ्ठा १६ धुर जग्गा ७ जना स्थानीयसँग खरिद गरि नामसारी गरिसकिएको छ । करिब १ करोड १० लाख ८० हजार मूल्य बराबरको जग्गा खरिद गरिएको संयोजक कनोडियाले जानकारी दिनुभयो ।

डिपिआर अझै पुर्णरुपमा तयार भइ नसकेको हुँदा जग्गाको आवश्यकता अझै बढ्न सक्ने बैकुण्ठधाम निर्माण समितिले जनाएको छ । जग्गा खरिद गरिएपछि संघीय सरकारबाट निर्माण कार्यको टेण्डर प्रक्रियाको बाटो खुलेको हो ।

संघीय सरकारले बैकुण्ठधाम निर्माणका लागि तीन करोड रुपियाँ खर्च गर्न लागेको जनाईएको छ । डुडुवा ५ सिधनियाघाटमा सुबिधा सम्पन्न आधुनिक दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने जनाउँदै आयोजक बैकुण्ठधाम सिधनियाघाट निर्माण समितिले नेपालगन्जमा आध्यात्मिक महोत्सव संचालन गरेको थियो ।

गत कात्तिक २२ गतेदेखि ३० गतेसम्म भएको महोत्सवबाट कुल तीन करोड तीन लाख १५ हजार चार रुपियाँ संकलन भएको थियो । जसमा ७५ लाख सात हजार ३७७ रुपियाँ

खर्च भएको थियो भने कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपियाँ आम्दानी भएको थियो । संयोजक कनोडियाका अनुसार धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत गर्नेगरि धाम निर्माण गर्ने योजना रहेको छ ।

सेयर गर्नुहोस्