चितवन महोत्सव २०८१: ब्रिज इन्टरनेसनलले तीन भाग्यशालीलाई प्रदान गर्‍यो अन्तर्राष्ट्रिय हवाई टिकट

चितवन महोत्सव २०८१ को समापन समारोहको अवसरमा ब्रिज इन्टरनेसनल चितवनले तीनजना भाग्यशालीलाई अन्तर्राष्ट्रिय हवाई टिकट प्रदान गरेको छ। वैदेशिक अध्ययन परामर्शमा अग्रणी यस संस्थाले आफ्नो स्टलमा १५ दिनको महोत्सव अवधिमा २० हजारभन्दा बढी आगन्तुकहरूको उपस्थिति रहेको जनाएको छ।

ती आगन्तुकहरूमध्ये लकी ड्रमार्फत तीनजना विजेता चयन गरिएको थियो। प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुर सिंह लामाले १००% छुटको टिकट चितवनका प्रदीप बस्नेललाई प्रदान गर्नुभएको छ। यस्तै, ७५% छुटको टिकट बागमती प्रदेश वन तथा वातावरण मन्त्री माननीय कृष्ण सिलवालले मास्टर्स अध्ययनरत अनिस गुरुङलाई प्रदान गर्नुभएको हो। त्यस्तै, ५०% छुटको टिकट चितवन महोत्सवका मूल आयोजक एवं उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठले रामचन्द्र दवाडीलाई प्रदान गर्नुभएको छ।

ब्रिज इन्टरनेसनलका ब्रान्च म्यानेजर सुनिल मरेटाले विजेताहरूले विद्यार्थी भिसा लागेपछि मात्र टिकट उपयोग गर्न पाउने र यो सुविधा तीन पुस्तासम्म ट्रान्सफर गर्न सकिने जानकारी दिनुभयो। प्रमुख अतिथि बहादुर सिंह लामाले विजेताहरूलाई बधाई दिँदै अन्तर्राष्ट्रिय शिक्षाबाट आर्जित ज्ञानलाई देशको विकासमा लगानी गर्न आग्रह गर्नुभएको छ।

यो कार्यक्रममा ब्रिज इन्टरनेसनलले चितवन महोत्सवका शैक्षिक साझेदारको भूमिका निभाएको थियो, जसले विद्यार्थी तथा अभिभावकलाई विदेश अध्ययनसम्बन्धी परामर्श प्रदान गर्न महत्त्वपूर्ण योगदान दिएको छ।

 

सेयर गर्नुहोस्