काठमाडौँ/बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेखमा रुपान्तरण सुरु गरेको छ। भौतिक फाइलहरुलाई विद्युतीय अभिलेख गर्न थालिएको हो। यातायात व्यवस्था कार्यालय गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्न काम शुरु गरेको बताउनुभयो ।
उहाले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताउनुभयो । उहाले २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम शुरु भएको बताउनुभयो ।
‘बागमती प्रदेशभित्र जतिपनि रहेका ढड्डा फाइलहरु छन्‚ ती ढड्डा फाइलहरुलाई विद्युतीय अभिलेख सिर्जना गर्ने। डिजिटलाइजेसन गरेर तिनलाई हामीले सिस्टममा हाम्रो एउटा भेइकल रजिस्ट्रेसन छ,’ उहाले भन्नुभयो, ‘त्यो सिस्टममा आवद्ध गर्ने र त्यो गरिसकेपछि अहिले जुन भौतिकरुपमा सेवा पवाह गरिरहेका छौँ, त्यो सेवा विस्थापन गर्ने र अनलाइनबाट सेवा प्रवाह गर्ने एउटा सोच र उद्देश्यका साथ मन्त्रालयले अगाडि सारेको कार्यक्रम हो यो।’
कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारीसाधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेखन गरिने बताउनुभयो । विद्युतीय अभिलेखनमा देखिने कतिपय समस्यालाई समाधान गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयले निर्णय गर्नुपर्ने उहाको भनाइ छ। कार्यालय प्रमुख भट्टराईले सचेतनाको कमीले कतिपय सवारीसाधन घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको बताउनुभयो । जबसम्म कर कार्यालयमा गएर लगत कट्टा र खारेज गरिँदैन तबसम्म करको दायित्व सवारीधनीकै हुने भएकाले सरकारी बाँकीसरह असुल गर्न सकिने उहाको भनाइ छ।