नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एक/दुई दिन भित्र काठमाडौंमा १० हजार युवाको जुलुस गर्ने बताएका छन् । उनले एमाले पुरानै अवस्थाका फर्किएको पनि उद्घोष गरे । जेनजी आन्दोलनपछि जलेको पार्टी कार्यालयमा मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रममा बस्नेतले दुई दिन भित्र राजधानीमा १० हजार युवाको जुलुस गर्न लागेको बताएका हुन् । ‘भोलि या पर्सीमा हामी काठमाडौंमा १० हजार युवाको जुलुस गर्छौं, के हो एमाले देखाउँछौं,’ बस्नेतले भने ।
एमालेले भन्दै आएको ‘मिसन ०८४’ २ वर्ष अगाडि सरेको र अब चुनावको तयारीमा लाग्ने उनले बताए । ‘हामी अब पुरानो अवस्थामा फर्कियौं, मिसन ०८४ भनेका थियौं । अब ०८२ मा लाग्यौं,’ बस्नेतले भने,अब हामीले बहुमत ल्याउँछौं ।’ कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेबेले जेनजीको नाममा विध्वंस गर्नेलाई कारबाही गर्न माग गरे । ‘जेनजीको नाममा गरिएका षडयन्त्रको पर्दाफास गर्नुपर्छ,’ उनले भने, ‘अहिले चुनावी अन्तरिम सरकार बनेको छ । समयमै चुनाव हुनुपर्छ । संविधानलाई अपव्याख्या गरेर देशलाई राजनीतिक अस्थिरतामा लैजाने कामको खबरदारी गर्नेछौं ।’






