नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उहाँले पार्टीको कार्यालय पुनःनिर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गर्नुभयो ।
उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी कार्यालयलाई निर्माण गर्न सकिने धारणा राख्नुभयो । “देशभरका नेता तथा कार्यकर्ताबाट कम्तीमा रु १० सङ्कलन अभियान गर्ने र धेरै दिन चाहनेले इच्छाअनुसार सहयोग गर्न सक्नेछन् । यसरी अगाडि बढियो भने पार्टीको केन्द्रीय कार्यालय पनि निर्माण हुन्छ । सबैको अपनत्व पनि हुन्छ”, उहाँले भन्नुभयो ।
उपसभापति गुरुङले अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले दिएको सुझावअनुसार पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । आफूले पटकपटक २०४६ सालयता लाभको पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएको स्मरण गर्दै उहाँले त्यसो गरेको भए हालको अवस्था सिर्जना नहुने जिकिर गर्नुभयो । रासस