नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेनजीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो ।
“संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि यसलाई अझै संविधानसम्मत बनाउन सकिन्थ्यो, त्यसमा त्रुटी भएको छ,” प्रवक्ता डा महतले भन्नुभयो ।
वर्तमान अवस्थाबारे पार्टीभित्र गम्भीर छलफल र बहस हुने उहाँले बताउनुभयो । चाँडोभन्दा चाँडो लोकतान्त्रिक पद्दति र जननिर्वाचित सरकार जरूरी रहेको प्रवक्ता डा महतको भनाइ थियो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन र व्यक्तिका घर तथा व्यवसायमा आगजानी गरिनु दुःखद र निन्दनीय कार्य भएको उहाँले बताउनुभयो ।
“लोकतन्त्र, नागरिक अधिकार र देशको प्रगतिमा ईश्या गर्ने शक्तिबाट यस्तो काम भएको छ, यसको घोर निन्दा गर्दछु,” प्रवक्ता डा महतले भन्नुभयो । उहाँले राजनीतिक दलका सबै नेता भ्रष्ट हुन् भन्ने भाष्य गलत भएको बताउनुभयो । लोकतन्त्र प्राप्तिको लडाइँमा लामो समय लड्ने व्यक्ति कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तीमाथि भएको आक्रमणप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले पछिल्लो घटना तथा पार्टीको महाधिवेशनका बारेमा सन्तुलित, संयमित र सघन रुपमा छलफल गरेर नित्कर्षमा पुगिने उल्लेख गर्नुभयो ।रासस