भारतको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन शिलान्यास

काठमाडौँ । कञ्चनपुरमा भारत सरकारको सहयोगमा निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ । आइतबार भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख श्रीमती निलम लेखक जोशीले जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन  संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

सो भवन भारत सरकारको १.९ करोड रुपैयाँ आर्थिक सहयोग लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने भारतीय दूतावासले जनाएको छ । कञ्चनपुरमा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना भएको समेत दूतावासले जनाएको छ ।

शिलान्यास समारोहमा भीमदत्त नगरपालिकाका उपप्रमुख जोशी र अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए र उनीहरूले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरूको लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त समेत गरे ।

पछिल्ला वर्ष भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ ।

सेयर गर्नुहोस्