नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ ।
पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
संशोधित व्यवस्थाले डिलरबाट गरिएको सवारी साधनको जाँचलाई पनि मान्यता दिएको छ । अब डिलरबाट जाँच भइसकेको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन ।
त्यस्तै, सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था पनि हटाइएको छ । यसले सवारी धनीको समय र झन्झट घटाउने अपेक्षा गरिएको छ ।
नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण लिन सहज बनाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था पनि संशोधनमा समेटिएको छ । मन्त्रालयले यी परिवर्तनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरेको छ ।






