भरतपुर महानगरमा वडा सदस्यहरुलाई कानुनी सचेतना तालिम सुरू

भरतपुर । भरतपुर महानगरपालिकाले कानुनी सचेतना तालिम दिन सुरू गरेको छ । महानगरका नागरिकहरुलाई वडा सदस्यहरुमार्फत न्यायको पहुँच, न्याय सम्पादन र न्यायिक अधिकारका सवालमा सबल र सक्षम बनाउने उद्देश्यले महानगरपालिकाले २९ वटै वडाका वडा सदस्यहरुलाई दुई दिवसीय कानुनी सचेतना तालिम सुरू गरिएको हो ।

वडा नम्बर १ देखि १५ सम्मका वडा सदस्यहरुलाई आइतबार पहिलो दिन र १६ देखि २९ सम्मका वडा सदस्यहरुलाई सोमबार तालिम दिइने कानुनी मामिला शाखाका प्रमुख सुरजराज पौडेलले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरेको बताउँदै ‘न्याय मरेको छैन र मर्न दिइने पनि छैन’ भन्ने उद्देश्यले यस्ता खालका तालिम अर्थपूर्ण हुने विश्वास व्यक्त गरे ।

महानगरको न्यायिक समितिका संयोजकसमेत रहेका अधिकारीले स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राखे । ‘स्थानीय सरकारलाई दिएका न्यायिक निरुपणका अधिकार हामीले वडातहमा लगेका छौँ । वडा तहमा रहेको मेलमिलाप केन्द्रले यी अधिकारहरुको प्रयोग गरिरहेका छन्’, उनले भने ।

स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनु आवश्यक रहेको उनले बताए । उनले थपे, ‘ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्छन्, विवादका प्रकृति फरक भए पनि मेलमिलाप गराउने पद्धति साझा हुनसक्छ ।’

विवादलाई सिर्जना भएकै विन्दुमा निरुपण गर्न वडास्तरीय संयन्त्रभन्दा अर्को प्रभावकारी संयन्त्र नभएको उल्लेख गर्दै महानगरको वडामै विवाद समाधान गर्ने सम्भवतः पहिलो पालिका भएकाले केन्द्रमा र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेका छन् । न्यायिक विकेन्द्रीकरणको यो नमुनायोग्य कदम भएको उनले बताए ।

‘प्राकृतिक न्यायको सिद्धान्त’, ‘विवाद समाधानमा स्वच्छ सुनुवाइको सिद्धान्त’, ‘न्याय ढिला हुनुहुँदैन र हतारमा ढङ्ग नपुगी पनि गर्नु हुँदैन’ र ‘ढिलो न्याय दिनु न्याय नदिनुसरह हो’, उनले भने ।

तालिममा भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा–सुविधाका सम्बन्धमा प्रशिक्षण दिनेछन् ।

यस्तै, शाखा अधिकृत राजन सापकोटाले वडा सदस्यहरुको काम, कर्तव्य र अधिकारका सम्बन्धमा प्रशिक्षण दिनेछन् । अर्का प्रशिक्षण मेलमिलाप विज्ञ बन्धुराज पौडेलले स्थानीय जनप्रतिनिधिहरुको न्यायसम्पादनसम्बन्धी व्यवस्था, महानगरका कानुनी सल्लाहकार गोपिलाल देवकोटाले कानुनको परिचय, समसामयिक कानुनहरुको बारेमा जानकारी र जनप्रतिनिधिहरुको आचारसंहिताका सम्बन्धमा प्रशिक्षण दिनेछन् ।

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य गोपाल दराई, विष्णुबहादुर भुजेल, सामान्य प्रशासन शाखा प्रमुख उपेन्द्रराज पौड्याललगायतको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्