रत्ननगरका निजी विद्यालयलाई भर्ना शुल्क नलिन निर्देशन

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन रत्ननगर नगरपालिकाले निर्देशन दिएको छ ।

रत्ननगर नगरकार्यपालिकाको वैशाख ९ गतेको निर्णय र नगर शिक्षा ऐन–२०७४ संशोधनसहितको दफा १६ को उपदफा ५ बमोजिम संस्थागत विद्यालयहरुले भर्ना शुल्क नलिन नगरपालिकाले नगरभित्रका संस्थागत विद्यालयलाई पत्रचार गरेको हो ।

कुनै कक्षामा भर्ना शुल्क लिइसकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नको लागि शुल्क लिन नपाउने ऐनमा उल्लेख रहेको र उक्त ऐन पूर्णरुपमा लागू गराउन लागिएको नगरप्रमुख प्रलाद सापकोटाले बताए ।

नगर शिक्षा ऐन–२०७४ र संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका २०७२ को दफा १४.१(२) ले समेत कक्षाको मासिक शुल्कको एक महिनाको शुल्कबराबर हुनेगरी एकपटकमात्र भर्ना शुल्क लिने व्यवस्था गरेकोमा विद्यालयमा एकपटक भर्ना शुल्क तिरी भर्ना भएका विद्यार्थीहरुलाई पुनः सोही विद्यालयमा भर्ना हुँदा शुल्क लिन नपाइने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।

सेयर गर्नुहोस्