मंसिर १० , काठमाडौँ ,
पेन्सन बञ्चित शिक्षक संघर्ष समिति केन्द्रीय कार्यालय, ललितपुरको विशेष बैठकले शिक्षकहरूका न्यायोचित मागहरू र भावी आन्दोलनका तयारीबारे महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ।
लामो समयसम्म सामुदायिक विद्यालयहरूमा सेवा गरेर पनि निवृत्तिभरण (पेन्सन) को अधिकारबाट वञ्चित रहनुपर्ने अन्यायपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ।

२०७५ चैत्र ४ देखि २०८२ वैशाख १ भन्दा अघि नियुक्ति भएका शिक्षकहरूलाई साविककै निवृत्तिभरण प्रणालीअनुसार सेवा सुविधा सुनिश्चित गराउनु संघर्ष समितिको मुख्य रहेको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सरकारद्वारा जारी गरिएको योगदानमा आधारित निवृत्तिभरण कोष ऐन, २०७५ का कतिपय अस्पष्टता र त्रुटिपूर्ण व्यवस्थाहरूले गर्दा शिक्षकहरू ठूलो मारमा परेको आरोप लगाइएको छ । संघर्ष समिति सम्पूर्ण प्रदेश, जिल्ला तथा पालिका समितिहरूलाई आ-आफ्नो क्षेत्रका पेन्सन बञ्चित शिक्षकहरूको विवरण सङ्कलन गर्न र आन्दोलनका पूर्वतयारी तथा तयारी तथा जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

आफ्ना मागहरू कानुनी र न्यायोचित भएको दावी गर्दै आएको समितिले यदि समयमै सरकारले मागहरूको उचित सम्बोधन नगरेमा निर्णायक र सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। यस अघि संघर्ष समितिका अध्यक्ष अमृत कार्कीको नेतृत्वमा शिक्षा मन्त्रालयमा गएको पिडित शिक्षकहरुको एक टोलीले सम्बन्धित निकायमा आफ्ना मागहरु सहित ज्ञापनपत्र समेत बुझाएको छ। ज्ञापन पत्र बुझाउदै अध्यक्ष कार्कीले शिक्षक लाइ सरकारले बालबालिका लाइ कथामा भुलाएर खाना खुवाए जस्तो गरेको भन्दै गुनासो गरे। कार्कीका अनुसार सरकारको पटक पटक फेरिरहने निर्णयले शिक्षकहरु आजित भएका छन् र सडक संघर्ष गर्न बाध्य हुनेछन।






