अमेरिकाको मिसिसिपीस्थित हर्न आइल्यान्ड नजिक विमान दुर्घटना, सवार सबै यात्रुको मृत्यु

अमेरिकाको मिसिसिपी राज्यस्थित हर्न आइल्यान्ड नजिक समुद्रमा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै (६ जना)को मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमानमा सवार चार वयस्क र ८ देखि १० वर्ष उमेरका दुई बालकको शव फेला परेको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

मंगलबार साँझ खोजीका क्रममा मिसिसिपी समुद्री स्रोत विभाग (एमडीएमआर) का गोताखोरहरूले विमानको मुख्य भागभित्रै सबै ६ जनाको शव फेला पारेपछि उद्धार तथा खोजी कार्य समाप्त गरिएको कोस्ट गार्डले जनाएको छ । दुर्घटनामा सेस्ना सेन्टुरियन २१० विमान परेको थियो । विमान मंगलबार दिउँसो हर्न आइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा समुद्रमा खसेको थियो ।

अमेरिकी कोस्ट गार्डका अनुसार विमानसँग सम्पर्क टुटेको जानकारी मंगलबार दिउँसो करिब ३ः४५ बजे प्राप्त भएको थियो । संघीय उड्डयन प्रशासन (एफएए) ले विमानसँग सञ्चार सम्पर्क गुमाएपछि दुर्घटनाबारे कोस्ट गार्डलाई खबर गरेको थियो ।

उद्धार टोलीले घटनास्थलमा खोजी गर्ने क्रममा तीनवटा लाइफ ज्याकेट, एउटा लाइफ ¥याफ्ट र विमानको केबिन फेला पारेको थियो । पछि गोताखोरहरूले विमानको फ्युजलेजभित्रै सबै यात्रुको शव फेला पारेका हुन् ।

न्यू ओरलिन्सबाट उडेको विमान अचानक समुद्रतर्फ खस्यो

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ का विवरणअनुसार उक्त विमान लुइजियानाको न्यू ओरलिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सतर्फ उडिरहेको थियो ।

उडेको करिब ३० मिनेटपछि मिसिसिपीको पास्कागुला क्षेत्रको दक्षिणतर्फ करिब ८ हजार ८०० फिट उचाइमा रहेका बेला विमान अचानक तीव्र गतिमा तल झर्न थालेको देखिएको थियो ।

ट्र्याकिङ विवरणअनुसार दुर्घटनाअघि विमान प्रतिमिनेट करिब १८ हजार फिटको गतिमा तल झरिरहेको थियो । यो गति प्रतिघण्टा २०० माइलभन्दा बढी हुन आउँछ । त्यसपछि विमानको ट्र्याकिङ संकेत बन्द भएको थियो ।

यद्यपि विमान अचानक किन खस्यो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

दुर्घटनाको अनुसन्धान एनटीएसबीले गर्ने

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्ड ९एनटीएसबी० ले नेतृत्व गर्नेछ । एफएएले पनि अनुसन्धानमा सहयोग गर्ने जनाएको छ । घटनास्थलमा अमेरिकी कोस्ट गार्ड, मिसिसिपी समुद्री स्रोत विभाग र स्थानीय निकायका टोली परिचालित भएका थिए । विमान दुर्घटनाको कारण पत्ता लगाउन प्राविधिक पक्ष, उडान विवरण र अन्य प्रमाणहरूको विश्लेषण गरिनेछ ।

निर्जन टापु नजिक दुर्घटना

हर्न आइल्यान्ड मिसिसिपीको बिलोक्सीबाट करिब १२ समुद्री माइल टाढा रहेको निर्जन टापु हो । त्यहाँ निजी डुङ्गाबाट मात्रै पुग्न सकिन्छ । बिलोक्सी, ओसन स्प्रिङ्स वा पास्कागुलाबाट डुङ्गामा यात्रा गर्दा करिब ३० मिनेटदेखि एक घण्टासम्म लाग्छ ।

करिब १० माइल लामो र एक माइल चौडा यो टापु गल्फ आइल्यान्ड्स नेसनल सिसोरअन्तर्गत पर्दछ । उक्त राष्ट्रिय संरक्षित क्षेत्र मिसिसिपीदेखि फ्लोरिडासम्म फैलिएका दर्जनौँ टापु समेटिएको छ । हर्न आइल्यान्ड गर्मी मौसममा स्थानीय पर्यटकका लागि लोकप्रिय गन्तव्यसमेत हो ।

तर, यसपटक त्यही टापुको उत्तरपूर्वी समुद्री क्षेत्रमा भएको विमान दुर्घटनाले ६ जनाको ज्यान लिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । एजेन्सी

सेयर गर्नुहोस्