सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसलगायत विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।
आजको बैठक शुरु हुनेबित्तिकै कांग्रेसलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई आ–आफ्नो स्थानमा बसेर सहयोग गर्न पटक–पटक आग्रह गरे पनि विपक्षी सांसदहरूले भने आफ्नो माग सुनुवाइ नहुँदासम्म विरोध यथावत् रहने जानकारी गराए । सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जारी राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गरेर अर्को बैठक जेठ १३ गते आइतवार बिहान ११ बजेका लागि तोक्नुभयो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाएर कांग्रेसले संसदीय छानबिन हुनुपर्ने माग गरेको छ । संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष र विपक्षी दल सहमत पनि भइसकेका छन् । समितिको कार्यादेश बनाउन गठन गरिएको कार्यदलमा भने सहमति जुट्न सकेको छैन । संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्दा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने कांग्रेसको अडान छ भने व्यक्ति विशेषको नाम राख्न नहुने सत्तापक्षको भनाइ छ ।
आजको बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची पनि थियो ।