नेपालमा संघीयता बोझिलो र खतरनाक छ: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन् । शुक्रबारबाट सुरू भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘ नेपाल जस्तो जनसंख्या र भूगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न सक्दैन । आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ ।’

उनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलब भत्ता ख्वाएर पाल्न नसक्ने बताए । उनले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको बताए ।

उनले मुलुकलाई दीर्घकालीन अफ्ठ्यारोबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभइ आर्थिक हिसावले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको उल्लेख गरे ।

अध्यक्ष लिङदेनले सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण छिमेक र विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बनेको बताए ।

उनले सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलाका कारण बिग्रिने सम्बन्ध र देशले भोग्नुपर्ने क्षति सम्बन्धित दलहरुले मात्र नभइ सिंगो देशले व्यहोर्नुपर्ने भन्दै वैदेशिक सम्बन्ध कसैसँग नजिक र टाढाको नभइ समान हुनुपर्ने बताए । वैदेशिक सम्बन्धमा दल र सत्ता नभइ केन्द्रमा देश हुनुपर्ने बताए ।

सेयर गर्नुहोस्