हुलाकी लोकमार्ग संयुक्त संघर्ष समितिको माग : ‘पुरानै नक्सा कार्यान्वयन गराऊ’

भरतपुर । हुलाकी लोकमार्ग संयुक्त संघर्ष समितिले पुरानै नक्साअनुसार लोकमार्ग कार्यान्वयन गराउन माग गरेको छ । परिमार्जित नक्साअनुसार कार्यान्वयन गराउँदा जगतपुरदेखि गीतानगर हुँदै भरतपुर–नारायणगढ बजार क्षेत्रको सौन्दर्यीकरणमा ठेस पुग्ने भन्दै पुरानो नक्सा कायम गराउँदा धेरै ठाउँ सुरक्षित हुने संघर्ष समितिका संयोजक तारा पौडेलले मङ्गलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।

पुरानो नक्साअनुसार हुलाकी मार्गको ध्रुवघाटदेखि कावासोतीको गैरी हुँदै लुम्बिनी पुग्न जम्मा ९२ किलोमिटर बाटो पर्ने उनले बताए । ‘परिमार्जित नक्सामा भन्दा पुरानो नक्सामा काम गर्दा ध्रुवघाटबाट लुम्बिनी पुग्न ५२ किलोमिटर कम पर्छ’, उनले भने । पश्चिम चितवनको समानान्तर विकासमा समेत पुरानो नक्साले मह¤वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।

‘पश्चिम चितवनवासीलाई विकास चाहिएको छ । तर, भौगोलिक हिसाबले एउटै महानगरपालिका भए पनि भरतपुर–नारायणगढ क्षेत्रको विकास र पश्चिम चितवन क्षेत्रको विकास तुलना गर्नै नमिल्ने खालको छ’, उनले भने, ‘त्यसकारण सदरमुकाम भरतपुर–नारायणगढ क्षेत्रसँग समानान्तर विकासका लागि पनि हुलाकी मार्गको पुरानो नक्सा कायम गर्नु उपयुक्त छ ।’

समग्रमा भरतपुरको विकासका लागि मात्र नभई माडीवासीका लागिसमेत धेरै फाइदा हुने उनले बताए । लुम्बिनीमा आउने भिक्षुहरुले बाइपासको बाटो प्रयोग गरेर चितवन आउन पाउने भएपछि लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्जबीचको सम्पर्क नजिक बनाउन सकिने समितिका संयोजक पौडेलले बताए ।

यस विषयमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत आश्वासनबाहेक केही पनि नपाएको उनले बताए । ‘चुनावको बेला माडी जाने बाटो कालोपत्रे गरिदिने, आकासे पुल बनाइदिनेजस्ता आश्वासन बाँडियो । तर, अहिलेसम्म कुनै पनि कुरा कार्यान्वयनको प्रक्रियामा समेत गएन’, उनले भने, ‘त्यसकारण हामीलाई ललीपपवाला झूटो आश्वासन होइन, समग्र हामी सबैको चाहनाअनुसारको काम गरोस् भन्नेमात्रै हो ।’

सबैभन्दा पहिले माडीवासीका लागि सरकारले मध्यवर्ती क्षेत्रबाट मुक्त गराइदिनुपर्ने समितिको माग छ । माडी नगरपालिकालाई मध्यवर्ती क्षेत्रमा राख्दैगर्दा स्थानीय सरकारको अधिकारभित्र रहेर गर्न पाइने कामसमेत निकुञ्जको अनुमतिबेगर नहुने हुँदा विकास निर्माणमा सबैभन्दा समस्या झेल्नु परेको माडी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल आचार्यले बताए ।

‘माडीलाई मध्यवर्ती क्षेत्रबाट नहटाइँदासम्म माडीका कुनै पनि जनप्रतिनिधिले खुलेर काम गर्न पाउने सम्भावना छैन’, उनले भने, ‘नगरपालिकाको आडैमा खाल्टो परेको बाटो पुर्न पनि निकुञ्जसँग अनुमति लिनुपर्ने भएपछि माडीको विकास कसरी सम्भव छ र ? त्यसकारण सरकारले माडीवासीको न्यायका लागि भए पनि माडी नगरपालिकालाई मध्यवर्ती क्षेत्रमुक्त गराउनुपर्छ ।’

अर्को कुरा, देशको सबै राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक चौबिसै घन्टा खुला हुँदा माडीवासीका लागि पनि चौबिसै घन्टा सुरक्षित यात्रा गर्ने गरी ओहोरदोहोर गराउने वातावरण सरकारले गराउनुपर्ने उनको भनाइ छ । ‘राति १० बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने होइन, मानव र वन्यजन्तु दुवैलाई सुरक्षित हुने गरी सडक सञ्चालन गर्नुपर्छ’, उनले भने । सडक कालोपत्रे नहुँदा त्यसबाट मानव मात्र नभई वन्यजन्तुसमेत समस्यामा परेको उनले बताए ।

‘सडकमा उडेको धुलोले सडकवरिपरि करिब तीन किलोमिटर टाढासम्म असर पु¥याउँदो रहेछ’, उनले भने, ‘त्यसकारण वन्यजन्तुका लागि खानेपानी पनि स्वच्छ भएन । घाँसपात त झनै दूषित भयो । त्यसकारण वन्यजन्तुलाई स्वस्थ राख्नकै लागि भए पनि जगतपुर–माडी सडक कालोपत्रे गरिनु आवश्यक छ ।’

यी विषयमा प्रधानमन्त्रीसम्मको ध्यान केन्द्रित गराए पनि हालसम्म कुनै पनि विषय सुनुवाइ नभएको उनले बताए । ‘देशले कतिपटक प्रधानमन्त्री पायो । तर, माडीवासीले अहिलेसम्म अभिभावक पाउन सकेनौँ’, उनले भने, ‘योभन्दा ठूलो पीडा माडीवासीका लागि केही होइन ।’ त्यसकारण माडीवासीले सक्षम अभिभावक खोजिरहेको उनले बताए ।

सेयर गर्नुहोस्