गाडी चढाएर एयरपोर्ट नपुर्‍याएको भन्दै ब्वायफ्रेण्ड विरुद्ध मुद्दा

काठमाडौं । आफ्नो प्रेमीविरुद्ध मुद्दा मामिला गर्ने पनि अनेक बहाना हुँदा रहेछन् । न्युजिल्याण्डमा एकजना महिलाले आफूलाई गाडीमा चढाएर एयरपोर्ट सम्म नपुर्‍याएको भन्दै प्रेमी विरुद्ध मुद्दा हालेकी छिन् ।सुरुमा एयरपोर्ट लगिदिन्छु भनेको तर पछि नलगिदिएकोले जहाजको उडान छुट्नुका साथै थप पैसा खर्च भएको भन्दै उनले मुद्दा हालेकी हुन् ।न्युजिल्याण्डको विवाद ट्रिब्युनलले सार्वजनिक गरेको कानूनी कागजात अनुसार ती महिलाले ब्वायफ्रेण्डसँग ३० हजार क्षतिपूर्ति माग गरेकी छिन् ।

साथीहरुसँग एउटा कन्सर्टमा जानका लागि जहाज यात्रा गर्न लागेकी उनले एयरपोर्ट सम्म पूराइदिनका लागि प्रेमीलाई भनेकी थिइन् । साढे ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीचमा कुनै असमझदारी थिएन । तर, त्यस दिन प्रेमीले उनलाई एयरपोर्ट लैजानका लागि गाडी लिएर आएनन् । जसका कारण उनी समयमै एयरपोर्ट पुग्न सकिनन् र जहाज छुट्यो । जसका कारण उनले थप खर्च गरेर अर्को उडान कुर्नुपर्यो।

त्यतिमात्र होइन त्यहीँ घटनाका कारण उनीहरुबीचको सम्बन्ध पनि टुक्रियो । त्यसपछि उनले क्षतिपूर्तिको माग गर्दै ती प्रेमी विरुद्ध विवाद न्यायालयमा मुद्दा हालिन् । पूर्व ब्वायफ्रेण्डले आफूसँगको मौखिक सम्झौता तोडेको उनको आरोप थियो । तर, ट्रिब्युनलले भने उनीहरुबीच कुनैपनि लिखित सम्झौता नभएको र ती पुरुष प्रेमिकालाई गाडीमा हालेर एयरपोर्ट लैजानुपर्ने कुनै कानूनी दायित्वमा नरहेको भन्दै महिलाको निवेदन खारेज गरिदिएको छ ।

न्यायालयले भनेको छ, ‘पार्टनर, साथी तथा सहकर्मीहरुले विभिन्न सामाजिक सम्झौताहरु गर्दछन् । तर ती कुराहरु कानूनी रुपमा लागु हुने सम्भावना रहँदैन र त्यसमा उनीहरुको इच्छाको कुरा नै प्रमुख बन्दछ। साथीले आफ्नो बाचा पूरा नगर्दा अर्को पक्षलाई आर्थिक घाटा पनि हुनसक्छ । तर कानूनी रुपमा उक्त क्षतिको क्षतिपूर्ति भने भराउन सकिँदैन।’

 

 

सेयर गर्नुहोस्