गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेताहरूले भने– शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाइ गर्नुहुँदैन

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् । मंगलबार गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर सानेपामा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेता सिटौलाले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाप्रसाद कोइरालाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राखे । उनले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला नगर्न पनि सरकार र राजनीतिक दलहरूलाई आग्रह गरे ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोइरालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्नुपर्ने कुरामा जोड दिए । उनले सरकार र राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाइ गर्न नहुने बताए ।

उनले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरूले सामान्य रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनीसमेत दिए । अध्यक्ष भट्टराईले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गन पनि दलहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

अध्यक्ष भट्टराईले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु गरिएको र त्यसलाई पूर्णता दिने विषयमा पनि दलहरू एकै ठाउँमा उभिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औँल्याए ।

सेयर गर्नुहोस्