छुरा प्रहारबाट बुटवलका एक युवाको मृत्यु भएको छ ।राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्यसमेत बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
घाइते थापाको उपचारका क्रममा निधन भएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।उनीमाथि गत जेठ २ गते कालिकानगरको एक रेस्टुरेन्टमा छुरा प्रहार भएको थियो ।घटनामा संलग्नलाई कानूनी कारबाहीका लागि प्रहरी समक्ष ध्यानाकर्षण गराइएको युवा संघका जिल्ला अध्यक्ष बस्नेतले बताए । संघले इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण हो ।
रेष्टुरेण्टमा रहेको सीसीटीभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा संघको आरोप छ ।प्रहरी अनुसन्धानप्रति पनि प्रश्नचिन्ह खडा हुनेगरी गतिविधि भएकाले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले बताए ।
घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितले बताए ।दोषीलाई पक्राउ गरी कारबाही गर्न युवा संघले प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।