मकवानपुर: जङ्गली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी परेका छन्। बिरामीमध्ये एक जनाको अवस्था गम्भीर छ। बुधबार साँझको खानामा जङ्गली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका—६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन्। त्यसैगरी बुद्धिबहादुरका दाजु बुद्ध स्याङ्तानकी १९ वर्षकी छोरी लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान पनि च्याउको तरकारी खाएर बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।
बुद्धिबहादुरका छोरा लासाङको अवस्था भने गम्भीर छ। बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ। अन्य बिरामीको मकवानपुरस्थित हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।
पछिल्लो समय मकवानपुरमा जङ्गली च्याउ खाँदा बिरामी हुनेको सङ्ख्या बढेको छ। बुधबार ७ जना बिरामी थपिएसँगै असार लागेयता मकवानपुरमा च्याउ खाएरै २८ जना बिरामी भएका छन् भने तीनजनाको मृत्यु समेत भइसकेको छ।