छोराको बिहेमा अम्बानीले दिए विनोद चौधरीलाई निम्तो

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको कान्छा छोरा अनन्तको विवाह १२ जुलाईमा मुम्बईमा हुँदैछ ।तीन दिन लामो यो विवाहको दोस्रो दिन यही जुलाई १३ गते शुभ आशीर्वाद कार्यक्रमको आयोजना गरिएको छ, जसमा सबै पाहुनाले नवविवाहित जोडीलाई आशीर्वाद दिनेछन् ।

यसपछि जुलाई १४ मा रिसेप्शन हुनेछ, जसमा विश्वभरका भीभीआईपी अतिथिहरू सहभागी हुनेछन् । तीन दिनको यी कार्यक्रमहरू मुम्बईको जियो वर्ल्ड सेन्टरमा मात्र हुनेछन् ।

त्यसका लागि अहिले अम्बानी परिवारले विश्वभरका धनाढ्यहरूलाई निम्तो पठाइरहेको छ । अम्बानीले आफ्ना छोराको विवाहमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई पनि निमन्त्रणा दिएका छन्।

चौधरीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिँदै अम्बानीलाई धन्यवाद दिएका छन् । तर, विवाह समारोहमा चौधरी उपस्थित नहुने भएका छन् ।

‘बधाई छ, अनन्त र राधिका ! मुकेश दाई र नीता अम्बानी जीलाई तपाईंको छोराको विवाहमा दयालु रूपमा निम्तो दिनु भएकोमा हामी सम्मानित र कृतज्ञ छौं । मेरो छोरा वरूण र बुहारी अनुश्रीले यस खुशीको अवसरमा गर्वका साथ हाम्रो परिवारको प्रतिनिधित्व गर्नेछन्।’ चौधरीले भने ।

अनन्तको विवाहअघि संगीत समारोह सुरु भैसकेको छ । अन्तर्राष्ट्रिय गायक जस्टिन बिबरलेसमेत आएर प्रस्तुति दिइसकेका छन् ।

अनन्तको विवाह राधिका मर्चेन्टसँग हुन लागेको हो ।

सेयर गर्नुहोस्