निसर्ग अस्पतालमा युवती मृत्यु प्रकरणः डाक्टरलाई बर्खास्त, कारवाहीका लागि काउन्सिलमा सिफारिस गर्ने सहमति

धनगढी, धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ। डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको हो।

भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको आरोप आफन्तले लगाएका थिए । डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले दिनभर अस्पतालमा आन्दोलन गरेका थिए। मृतकका काका हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्ने सहमति भएको जानकारी दिनुभयो ।

सामान्य पेट दुखेर राती १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टापछि उपचारको क्रममा मृत्यु भएको थियो। मृतकका आफन्त नन्दराज जोशीका अनुसार लक्ष्मी हेल्थ असिस्टेन्ट (एचए) को ओजेटीका क्रममा धनगढीकै नवजीवन अस्पतालमा कार्यरत थिइन् ।

ड्युटीबाट फर्केपछि उनको पेट दुख्न थालेछ । त्यसपछि उनीलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ चेकजाँच भएपछि केही औषधी दिएर साँझ ८ बजे घर फर्काइएको थियो । तर दुखाई कम नभएपछि उनीलाई पुनः अस्पतालमा लगिएको उहाँले बताउनुभयो ।

थप उपचारका लागि अस्पताल पुगेपछि उनलाई भर्ना गरेर दुखाई कम गर्ने विभिन्न औषधी दिइएको जोशीको भनाई । तर लक्ष्मी र सँगै रहेकी आमाले त्यसरी लगातार दुखाईको ‘हाइ डोज’ औषधी थप्दै गर्दा इन्कार गरेतापनि अस्पतालले नमानेको जोशीको आरोप छ ।

सेयर गर्नुहोस्