बोर्डबाट विदा हुँदै भुवनले भने- ‘फिल्म क्षेत्रलाई सरकारले के गर्‍यो ?’

चलचित्र विकास बोर्डमा २ वर्षे कार्यकाल सकाएर अभिनेता भुवन केसी अध्यक्ष पदबाट विदा भएका छन् । साउन ९ गते (बुधबार) नै उनको कार्यकाल सकिएको हो । बिहीबार बोर्डमा उनको विदाई कार्यक्रम राखिएको थियो । जहाँ भुवनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको बारेमा जानकारी दिँदै सरकारप्रति गुनासो र आक्रोश पनि व्यक्त गरे । फिल्म क्षेत्रलाई सरकारले कुनै योगदान नगरेको उनको गुनासो थियो ।

भुवनले भने, ‘नेपाली फिल्म खेल्ने रहरले मलाई चलचित्र विकास बोर्डको अध्यक्षसम्म ल्याइपुर्‍यायो । हामीले अझै धेरै गर्न बाँकी छ । तर, फिल्म क्षेत्र यहाँसम्म आइपुग्नु कम भने छैन । नेपाली फिल्मले धेरै छलाङ मारेको छ । तर, फिल्म क्षेत्रलाई सरकारले के गर्‍यो ? फिल्म क्षेत्र यहाँसम्म आइपुग्नुमा सरकारको योगदान चाहिँ शून्य छ ।’ फिल्म क्षेत्रका लागि यो काम गर्‍यौं भनेर नेताहरुलाई भाषण ठोक्न कुनै अधिकार नरहेको समेत उनको भनाई थियो ।

एउटा स्टुडियो समेत सरकारले बनाउन नसकेकोप्रति आक्रोश व्यक्त गर्दै उनले अगाडि भने, ‘नेपाली फिल्ममा प्राथमिकतामा राख्नुपर्छ भनेर म बोर्डमा नआउँदा पनि मन्त्रालयलाई सल्लाह-सुझाव दिइरहेको हुन्थेँ । तर, त्यो सुनिन्छ, कार्यान्वयन हुँदैन । त्यसका लागि बोर्ड जानुपर्ने रैछ, त्यहीँबाट यो सम्भव छ भनेर म आएको थिएँ । तर, यहाँ आएर थाहा भयो कि बोर्डलाई थोरै मात्र अधिकार रहेछ ।’

आफ्नो कार्यकालमा उल्लेखनीय काम हुन नसकेको भन्ने टिका-टिप्पणीप्रति भुवन सकारात्मक सुनिए । आफूप्रति फिल्मकर्मीले ठूलो अपेक्षा राखेकाले त्यस्तो लागेको हुनसक्ने उनको बुझाई छ । यद्यपि, बोर्डमा आएको दिनदेखि नै आफूले फिल्म क्षेत्रको समस्या समाधानका लागि प्रयास गरेको भुवनले जिकिर गरे ।

उनी फिल्म क्षेत्रको सबैभन्दा ठूलो समस्या नै २०२६ सालको ऐनलाई मान्छन् । नयाँ ऐन पारित भए फिल्म क्षेत्रको धेरै समस्या समाधान हुन्छ भन्ने उनलाई लाग्छ । ‘नयाँ ऐन पारितका लागि मैले प्रयास गरेँ । यदि त्यो ऐन पारित भयो भने फिल्म क्षेत्रको लगभग ९० प्रतिशत समस्या समाधान हुन्छ,’ उनी भन्छन्, ‘तर जति गरे पनि ऐन मन्त्रालयमै गएर रोकिन्छ । मन्त्रीहरु आउनुहुन्छ र हामी गर्छौं भन्नुहुन्छ । अब हामीले गर्ने भनेको त प्रयास मात्र हो । अहिले ऐन सञ्चार मन्त्रालयबाट अर्थमा पुगेको छ । सरकारले चाह्यो भने ऐन तुरुन्तै पास हुन्छ ।’

बोर्डबाट गर्नुपर्ने लगभग सबै काम भएको दावी समेत भुवनले गरे । स्टुडियो बनाउनुपर्ने, नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने, बाहिरका फिल्मलाई छायांकन गर्न नेपाल भित्राउने जस्ता विषय भने योजना बनाएर मन्त्रालयमा बुझाएको उनको भनाई थियो । यद्यपि, केही चीजहरु सोचेको जस्तो हुन नसकेको उनले स्वीकार गरे ।

‘म कुनै स्वार्थ लिएर बोर्डमा आएको थिइनँ । काम गर्ने क्रममा केही चीज सोचेको जस्तो सायद हुन सकेन होला । तर, मेरो प्रयास निरन्तर जारी थियो । मेरो एकमात्र उद्देश्य नेपाली फिल्म र फिल्मकर्मीलाई कसरी राम्रो गर्न सकिन्छ भन्नेमै थियो,’ उनले भने, ‘कति चीज चाहेर पनि सकिएन होला । कति कुरा कार्यविधि र अधिकार क्षेत्रले दिएन होला, जुन चीज मैले यहाँ आएर थाहा पाएँ । अन्जानमा मैले केही गलत वा नराम्रो काम गरेको रहेछु भने क्षमा माग्न चाहन्छु ।’

भुवनले आफ्नो कार्यकालको उपलब्धिहरुमा बक्स अफिस प्रणालीको कार्यान्वयन, स्टोरी बैंकमार्फत मौलिक फिल्म निर्माणमा प्रोत्साहन, फिल्मकर्मीहरुको दक्षता अभिवृद्धि कार्यक्रम, बाल फिल्म निर्माण प्रशिक्षण, सम्मान तथा पुरस्कार, घुम्ती सिनेमा आदिलाई मानेका छन् । तर, यी सबै बोर्डको नियमित कामहरु हुन् । भुवनको कार्यकालमा उपलब्धिमुलक कुनै काम हुन सकेको देखिँदैन । बरु विवाद र विदेश घुम्नेमा उनले ‘रेकर्ड’ बनाए ।

सेयर गर्नुहोस्