विमान दुर्घटनाः जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने छजना प्रहरी पुरस्कृत

काठमाडौँ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।

उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो । घाइते भएका शाक्यलाई स्वास्थ्य अवस्थामा सुधार आएपछि सामान्य वार्डमा सारिएको छ ।

सेयर गर्नुहोस्