चितवन । भरतपुर अस्पतालमा सञ्चालनमा आएको छोटो समयमा नै एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिएको छ । एमआरआई बिग्रिएसँगै सेवा बन्द भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलकाका अनुसार साउन १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको हो ।
अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने बताउनुभयो । अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको डा. पौडेलको भनाईइ छ । आफूले जर्मनीबाट सामानको अर्डर भैसकेको भन्ने सुनेको भन्दै उहाँले सामान आएसँगै जडान गरेर पुनः नियमित सेवा दिने बताउनुभयो ।
अस्पतालमा एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् । यहाँ दैनिक १५ जना हाराहारी बिरामीको एमआरआई हुँदै आएको थियो । जर्मनीमा बनेको सिमेन्स कम्पनीको थ्री टेस्ला ६४ च्यानलको सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याएर जडान गरी असार २७ गतेदेखि सञ्चालन गरिएको थियो ।