देशभर कालोबजारी रोक्न सरोकार समितिको निर्देशन

काठमाडौं संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभर गुणस्तरीय वस्तु तथा सेवा सहज आपूर्तिको व्यवस्था गरी कालोबजारी रोक्नका लागि निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा दैनिक उपभोग्य तथा अति आवश्यक वस्तुको सेवामा हुने गरेको मूल्य वृद्धि र कालोबजारीले आमनागरिकलाई समस्यामा पारेको भन्दै कालोबजारी रोक्नका लागि निर्देशन दिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । उनल भने,‘बजारमा दैनिक उपभोग्य तथा अत्ति आवश्यक वस्तुहरुको सेवामा हुने गरेको मूल्य वृद्धि कालोबजारीले आमनागरिकहरुलाई भएको समस्यामा भइरहेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हकको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न वा गराउन देशभर गुणस्तर बस्तु तथा सेवा सहज आपूर्तिको व्यवस्था गरी कालोबजारी रोक्न जरुरी छ ।’

चाडपर्व अगाडिदेखि नै मूल्यवृद्धि रोक्नका लागि बजार अनुगमन गर्न र सहज पहुँच हुनेगरी सुपथ मूल्यमा प्रत्येक पसलमा मूल्य सूची अनिवार्य राख्ने व्यवस्था गर्न जरुरी रहेको उनले बताए । उनले भने, ‘तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्दैै बजार अनुगमन तथा प्रभावकारी रुपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छौँ ।’समितिले सहज पहुँच हुने गरी सुपथ मूल्यमा प्रत्येक पसलमा मूल्य सूची अनिवार्य राख्ने व्यस्था गर्न र तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्दैै बजार अनुगमन तथा प्रभावकारी रूपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न मन्त्रालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।

सेयर गर्नुहोस्