चितवन: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन उद्घाटन एवम् विद्यार्थी तथा अग्रज सम्मान कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफैले शिलान्यास गरेको भवन समुद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित भएको महशुस गर्दै एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयहरुलाई बधाई ज्ञापन गरिन्। राज्यको ठूलो लगानी भएर पनि सामुदायिक विद्यालयहरुको नतिजा कमजोर भएकोप्रति चिन्ता व्यक्त गर्दै दाहालले चितवनमा संस्थागत विद्यालयहरुले हासिल गरेको नतिजाप्रति खुशी व्यक्त गरिन् ।
शिक्षा विकास तथा समन्वय ईकाई भरतपुरका प्रमुख भूमिलाल सुवेदीले उत्कृष्ट नतिजा हासिल गर्ने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै प्रगति गर्दै देशकै उत्कृष्ट नतिजा हासिल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा चितवनमा संस्थागत विद्यालयबाट १८ जना र सामुदायिक विद्यालयहरुबाट २ गरी २० जना जीपीए ४ प्राप्त गर्ने विद्यार्थी र १२ वटा विद्यालयहरुलाई सम्मान गरिएको थियो । प्याब्सनको सम्मान कार्यक्रमले शैक्षिक विकासमा महत्वपूर्ण योगदान मिलेको सहभागीहरुले बताएका थिए ।
सोही अवसरमा रेनु दाहालले प्याब्सनको भवन निर्माण गर्न र प्याब्सनको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अग्रजहरुलाई पनि सम्मान गरिन् ।
भरतपुर महानगरपालिका–११ गणेशस्थान स्थित प्याव्सन चितवनको भवन २०७९ साल साउन ४ गते महानगर प्रमुख रेनु दाहालले नै शिलान्यास गरेकी थिइन् । प्याव्सनको भवन करिब १ करोड रुपैयाँको लागतमा सम्पन्न भएको र अझै थप व्यवस्थापनका काम बाँकी रहेको भवन निर्माण समितिका संयोजक एवम् प्याव्सन चितवनका सचिव मदन पुरीले जानकारी दिए ।
प्याव्सन चितवनका अध्यक्ष कृतिनिधि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सनका केन्द्रित प्राज्ञिक सल्लाहकार केशवकुमार श्रेष्ठ, प्याव्सन भरतपुरका अध्यक्ष लेखनाथ खनाल, प्याव्सन चितवनका वरिष्ठ सल्लाहकार बेलबहादुर गुरुङ, संस्थागत विद्यालय शिक्षक युनियन (ईष्टु) चितवनका अध्यक्ष जनकराज घिमिरे, गणेशथान टोल विकास सँस्थाका अध्यक्षलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्याव्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्याव्सन चितवनका सचिव मदन पुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।