नयाँदिल्ली, २७ साउन (एजेन्सी) । भारतको कोलकाताको सरकारी आर.जी.कर अस्पतालमा महिला चिकित्सकको बलात्कारपछि हत्या भएपछि विरोध प्रदर्शन भइरहेको छ। विभिन्न सरकारी अस्पतालका चिकित्सकहरुले बिरोध प्रदर्शन गरेका हुन्।
हत्या गरिएकी महिला चिकित्सकको शव अस्पतालको चौथो तलको सेमिनार हलबाट शुक्रबार बरामद गरिएको हो। उनी पोष्ट ग्र्याजुएट अध्ययन गरिरहेको बताइएको छ। शनिबार भारतका विभिन्न सरकारी अस्पतालका डाक्टरहरुले प्रदर्शन गरेका छन्। उनीहरुले दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।
प्रदर्शनकारीले अस्पतालमा डाक्टर सुरक्षित नरहेको बताउँदै उपचार रोक्नेसमेतको धम्की दिएका छन्।
प्रहरीले सीसीटीभी फुटेजको सहारामा यस मामलाको एक आरोपी गिरफ्तार गरेको जनाएको छ। त्यो व्यक्तिसँग सोधपुछ जारी रहेको बताइएको छ।
प्रहरीका अनुसार ती महिला चिकित्सकको शरीरका विभिन्न भागमा चोट पाइएका छन्। मुख्यमन्त्री ममता बनर्जीले मृत चिकित्सकको परिवारसँग कुरा गरेकी छिन्। दोषीलाई फाँसी दिने भरोसा दिलाएकी छिन्।