शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार

काठमाडौ । पछिल्लो एक महिनामा शेयर बजारले दिनदिनै जसो रेकर्ड कायम गरेको छ । आज हालसम्मकै उच्च कारोबार भयो ।आइतबार २५ अर्ब ७७ करोड रूपैयाँ बराबरको कारोबार भयो । बजारले २८ सय बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । आइतबार बजार ९४.५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०.९१ बिन्दुमा अडिएको छ ।

यसअघि पौने २४ अर्ब रूपैयाँसम्मको कारोबारको रेकर्ड थियो । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।सर्किट लाग्ने कम्पनीहरूमा अधिकांश जलविद्युत र केही लघुवित्त कम्पनी छन् । आज नेशनल हाइड्रोपावर कम्पनी, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, हाइड्रो इलेक्ट्रीसिटी डेभलपमेन्ट एण्ड कम्पनी, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, शुभम पावर लिमिटेड,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा सर्किट लागेको छ ।

यस दिन ३३० कम्पनीको ६ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १ अर्ब ५२ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । बजारमा ठूला र संस्थागत लगानीकर्ताको प्रवेश भएकाले नेप्सेले पछिल्लो समय आकर्षक वृद्धि हासिल गर्न सकेको हो ।नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि मार्जिन लेण्डिङका लागि लगाउँदै आएको सीमा खारेज गरेसँगै संस्थागत लगानीकर्ता पनि हौसिएको देखिन्छ । यस्तै पछिल्लो बढेको कारोबारमा नयाँ लगानीकर्ताको प्रवेश पनि बढिरहेको छ ।

नेप्सेमा सुचीकृत विभिन्न कम्पनीहरुले आफ्ना वित्तिय विवरण सार्वजिनक गरिररहेका छन् । वित्तीय विवरण खराब भएका केही कम्पनीको शेयर मूल्य पनि उचालिएपछि यसमा केही सांसदहरूले अस्वाभाविक भएको अभिव्यक्ति दिएका थिए ।वित्तीय सूचक कमजोर भएका कम्पनीमा लगानीकर्ता फस्न सक्ने भन्दै उनीहरूले सचेत गराएका थिए ।

सेयर गर्नुहोस्