काठमाडौँ,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी कमजोर भएको भन्दै उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् ।माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाएका हुन् ।
शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व उहाँले चाहेको व्यक्ति वा पुस्ता हस्तान्तरण गरेर युवालाई दिन माग गरेका छन् ।
अहिलेको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनबाटै प्रत्यक्ष चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न पनि शर्माको माग छ । उनले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग, समुदाय अहिले माओवादीबाट टाढिँदै गएको भन्दै विभिन्न सुझाव दिनुभएको छ ।