काठमाण्डाै – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । स्थानीय बासिन्दाले एक्कासी बाढी पसेको खबर गरेका र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय बासिन्दाबाट खबर आएको छ, केही घर बगाएको र केहीमा बाढी पसेको खबर भन्ने छ, हामी त्यसतर्फ गइरहेका छौँ, केही समयमा थप जानकारी आउँछ । यदि हिमताल फुटेको भएमा दूधकोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्छ ।’यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ ।
यसैबीच सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले थामेमा क्षति भइसकेको जानकारी आएको भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । दूधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी तटीय क्षेत्रमा ठूलो बस्ती रहेको छ ।