चितवन। यहाँका एक चिकित्सक दम्पत्तिले १० वर्षमा एक करोड कोष बनाउने गरी फाउण्डेशन स्थापना गर्नुभएको छ । दन्त रोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एण्ड डा.सरु फाउण्डेशन’ स्थापना गर्नुभएको हो ।
फाउण्डेशनको शुक्रबार साँझ चितवनको पर्यटकीय नगरी सौराहामा औपचारिक शुभारम्भ गरिएको छ । फाउण्डेशन स्थापनाबारे जानकारी दिंदै डा.न्यौपानेले फाउण्डेशन मार्फत् स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुद, वातावरण लगायतका क्षेत्रमा काम गर्ने बताउनुभयो । आफूहरुले विभिन्न क्षेत्रमा दन्त शिविरदेखि, राहत सामग्री, शैक्षिक सामग्री वितरण गर्दै आएको बताउँदै उहाँले व्यवस्थित र बृहत तरिकाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशन स्थापना गरिएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा पनि दृष्टिलाई पहिलो प्राथमिकतामा राखेको भन्दै उहाँले भन्नुभयो “विपन्न वर्गको, जो दृष्टिविहिन छ उहाँहरुलाई सहयोग गर्ने पहिलो प्राथमिकता हुनेछ ।” यसैगरी स्वास्थ्य पहुँच कार्यक्रम अन्तर्गत गाउँपालिकामा पुगेर निःशुल्क शिविर गर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “शिविरमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ, दन्त मात्रै नभएर अरु विधाका विशेषज्ञ पनि शिविरमा लैजान्छौं ।” इमर्जेन्सी हेल्थ सपोर्ट अन्तर्गत कोभिड जस्ता महामारीमा सहयोग गर्ने डा. न्यौपानेको भनाई छ ।
यसैगरी शिक्षातर्फ अब्बल, अनुशासित, गरिब सरकारी विद्यालयमा पढिरहेका २० जना विद्यार्थीलाई प्रत्येक वर्ष रु.१० हजारका दरले छात्रवृत्ति दिने उहाँको भनाई छ । यसैगरी पाँच जना शिक्षकलाई रु.१० दश हजारका दरले प्रत्येक वर्ष प्रोत्साहन पुरस्कार दिने योजना रहेको छ ।
यस्तै विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने डा. न्यौपानेको भनाई छ । विपद्को समयमा उद्धार, राहत सामग्री र पुनस्र्थापनामा सहयोग गर्ने योजना फाउण्डेशनको छ । वातावरणमा पनि फाउण्डेशनले काम गर्ने छ । वृक्षारोपण, प्लास्टिकको प्रयोगमा न्यूनिकरण, प्लास्टिकको पुनः प्रयोग जस्ता कार्यहरु गर्ने फाउण्डेशनको योजना रहेको डा. न्यौपानेले जानकारी दिनुभयो ।
कला र संस्कृतिमा पनि काम गर्ने योजना फाउण्डेशनको छ । नेपालमा भएका कला संस्कृतिको संरक्षण, प्रबद्र्धनमा काम गर्ने उहाँले बताउनुभयो ।
यस्तै खेलकुद क्षेत्रमा पनि फाउण्डेशनले काम गर्ने छ । खेल क्षेत्रमा धेरैभन्दा धेरैलाई सहभागी गराउन बालबालिका, युवा र बृद्धहरुलाई उनीहरुको रुचि अनुसार प्रोत्साहन गर्ने योजना फाउण्डेशनको छ ।
वार्षिक रुपमा रु.१० लाख कोषमा राख्दै जाने र चालु पूँजीको रुपमा यस आर्थिक वर्षमा रु.१० लाख छुट्याएको उहाँले बताउनुभयो । आउँदो वर्षबाट कोषको व्याजमा अरु रकम थप गरी त्यही पैसाबाट फाउण्डेशनले काम गर्ने योजना रहेको डा. न्यौपाने बताउनुहुन्छ । दश वर्षमा अक्षयकोष रु. एक करोड पुग्ने डा न्यौपानेको भनाई छ । व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने दम्पत्तिको योजना छ ।
आवश्यकता अनुसार कार्यक्रमहरु गर्दै जाने न्यौपानेले बताउनुभयो । शुरुका वर्षहरुमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउण्डेशनको छ । फाउण्डेशनमा आफ्नो कमाई मात्रै प्रयोग गर्ने भन्दै उहाँले अन्य दाताको सहयोग नलिने बताउनुभयो । यद्यपी सामाजिक संघ संस्था र स्थानीय सरकारसँग सहकार्य गरेर काम गरिने उहाँको भनाई छ ।
नेपाल सरकारको १० औं तहका चिकित्सक न्यौपाने भरतपुर अस्पतालको दन्त रोग विभागका प्रमुख हुनुहुन्छ । उहाँले अतिरिक्त समयमा साइराम डेण्टल केयरबाट सेवा दिने गर्नुहुन्छ भने डा. थापाले पूर्ण समय साईराम डेण्टल हेर्दै आउनु भएको छ । भरतपुर, नारायणगढ र टाँडी बजारमा साइराम डेन्टल केयरका शाखा रहेका छन् ।
काठमाण्डौंको लौनचौरका स्थायी वासिन्दा अजय बि.सं. २०५६ सालमा ब्याचलर अफ डेन्टल सर्जरी (बिडिएस) अध्ययन गर्न बंगलादेश जानुभयो । काठमाण्डौंकै कुलेश्वरकी सरु थापा पनि सोही विषय अध्ययन गर्न बंगलादेश जानुभयो । अध्ययनकै शिलशिलामा उहाँहरुबीच चिनजान र घनिष्टता बढ्दै गयो । अजयले बिडिएसमा गोल्डमेडलिष्ट हुँदा सरुले पनि अध्ययनलाई सफलतापूर्वक पूरा गर्नुभयो । नेपाल फर्किए लगत्तै उहाँहरु विवाह बन्धनमा बाँधिनुभयो ।
राजधानी काठमाण्डौं बाहिर दन्त चिकित्साको सेवा प्रवाह गर्ने सोचका साथ दुवै जना बि.सं. २०६१ सालमा चितवन झर्नुभयो । चितवनमा उहाँहरुले आठ महिना अरुको क्लिनिकमा काम गर्नुभयो । त्यसपछि भने जन्म भयो “साईराम डेण्टल केयर” को ।
बि.सं. ०६३ सालमा अजयले लोकसेवामा एक नम्बरमा नाम निकाल्न सफल हुनुभयो । उहाँले सेवाका लागि सरकारी भरतपुर अस्पताललाई नै रोज्नुभयो । भरतपुर अस्पतालको सेवासँगै डा. अजयले बिहान बेलुकाको समय साईराममा दिनुभयो भने सरुले सबै समय साईराममै बिताउनुभयो ।
नेपाल सरकारको १० औं तहको चिकित्सक डा.अजय यहाँको भरतपुर अस्पतालमा दन्त रोग विभागका प्रमुख हुनुहुन्छ । उहाँले दुई वर्ष बकुलहर रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट भएर सफलतापूर्वक जिम्मेवारी पूरा गरिसक्नु भएको छ ।
यो चिकित्सक जोडिले अहिलेसम्म ३५ हजारभन्दा बढीलाई निःशुल्क रुपमा परीक्षण, औषधिसँगै ब्रस, पेष्ट वितरण गरिसकेको छ । यो जोडिले शिविरहरुमा दाँत निकाल्ने, भर्ने, सफा गर्ने, निःशुल्क औषधि, पेष्ट, ब्रस वितरण गर्ने र जनचेतना जगाउने गर्दै आएको छ ।
जिल्लाका पिछडिएको समुदायमा पुगेर आफ्नै खर्चमा निःशुल्क शिविर गर्ने गरेको उहाँहरुको भनाई छ । गाउँगाउँमा शिविरसँगै यो दम्पत्तीले विपत्तिका बेला असहायहरुलाई साथ दिने गरेको छ । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ सामुदायका बालबालिकालाई शैक्षिक सामग्री पनि उहाँहरुले समय समयमा वितरण गर्दै आउनु भएको छ ।
गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदै गर्दा उहाँहरुले त्यही पुगेर लत्ता कपडा, खाद्यान्न, जस्तापाता लगायतका सामग्री वितरण गर्नुभएको छ ।
देवघाटमा रहेका बृद्धबृद्धालाई निःशुल्क दन्त परीक्षण गर्ने, औषधि, लत्ता कपडा वितरण गर्ने उहाँहरुको नियमित काम जस्तै भएको छ । समय समयमा आउने बाढी पहिरोका बेला समस्यामा परेका ठाउँमा पुगेर सहयोग गर्ने गरेको डा. अजय बताउनुहुन्छ ।
त्यसो त पछिल्ला समय आएका नवआगन्तुक दन्त चिकित्सकहरुलाई प्रविधि र सीप हस्तान्तरण गर्न आफ्नै खर्चमा यो दम्पत्तीले गोष्ठी गर्न थालेको छ । वर्षमा दुई वटा गोष्ठी गर्ने योजना रहे पनि पछिल्ला वर्षहरुमा त्यो सम्भव भईरहेको छैन । हालसम्म तीन वटा यस्ता कार्यक्रम भईसकेका छन् । डा. अजय भन्नुहुन्छ “हामीले नेपालभरिका एक पटकमा ८० जना हाराहारी दन्त चिकित्सकलाई चितवन बोलाएर दुईदेखि तीन दिनको आवासीय निःशुल्क कार्यक्रम गर्दै आएका छौं ।” आफ्नै खर्चमा यी कार्यक्रम हुँदै आएका छन् । यस्ता कार्यक्रमले पेशामा प्रवेश गर्नेहरुलाई काम गर्न सजिलो हुने उहाँको बुझाई छ । डा. अजयले भन्नुभयो “सीप र प्रविधि हस्तान्तरणमा यसले ठूलो टेवा पुग्छ ।”
दन्त चिकित्सा क्षेत्रलाई उत्कृष्ट बनाउन यो दम्पत्तिले पढ्दै गरेका चिकित्सक र भर्खरै पढाई सकेर कर्ममा लागेकाहरुलाई विभिन्न ढंगले सहयोग गर्दै आएको छ । कोभिडताका रु.१२ लाख सहयोग गर्नुभएको छ । डा. सरुका अनुसार पढ्दै गरेका विद्यार्थी र भर्खरै काम थालेका दन्त चिकित्सकलाई रु.१० लाख र नेपाल डेन्टल एसोसिएसनलाई रु.२ लाख सहयोग गरिएको हो । कोभिडको समयमा अक्सिजन, माक्स, पिपिई जस्ता स्वास्थ्य सामग्री सरकारी अस्पताल, पत्रकार, सुरक्षाकर्मीलाई सहयोग गरेको उहाँ बताउनुहुन्छ ।
विदेशमा छरिएर रहेका दन्त चिकित्सकलाई नेपाल बोलाउने डेन्टल प्रोजेक्ट नेपाल समेत उहाँहरुले शुरु गर्नुभएको छ । विदेशी चिकित्सकहरुलाई १५ दिनको समय मिलाएर यहाँ ल्याउने गर्नुभएको छ । यस कार्यक्रममा विदेशी दन्त चिकित्सक यहाँ आएर उपचारका बारेमा छलफल परामर्शसँगै यहाँका पर्यटकीय क्षेत्र घुम्ने गर्दछन् ।
सन् २०१५ बाट उहाँहरुले यो अभियान शुरु गर्नुभएको हो । कम्तीमा १५ र बढीमा २५ जनासम्म चिकित्सक प्रत्येक वर्ष आउने गरेका छन् । नेपाल घुमेर फर्किदै गर्दा उनीहरु हर्षित भएको न्यौपाने दम्पत्ति बताउनुहुन्छ । यो कार्यक्रमले प्रविधि र सीप साटासाट गरेर उपचारमा सहजता आएको उहाँहरुको बुझाई छ । यसले दन्त चिकित्सासँगै पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने उहाँहरु बताउनुहुन्छ ।
विदेशमा दाँतको उपचार महंगो हुने हुँदा युरोप, अमेरिका, अष्ट्रेलिया लगायतमा देशमा रहेका नेपाली र विदेशी उपचार गर्न यहाँ आउने गर्दछन् । दाँतको उपचार निकै महंगो हुने भए पनि अरु देशको तुलनामा नेपालमा ८० प्रतिशत सस्तो हुने डा. अजय बताउनुहुन्छ ।
थाईल्याण्ड, कम्बोडिया, भियतनाम जस्ता देशले डेन्टल टुरिजममा राम्रो प्रगति गरेको भन्दै डा. अजयले कान्तिपुर हेल्थलाई भन्नुभयो “नेपालमा डेन्टल टुरिजमको निकै राम्रो सम्भावना छ । सबै लाग्ने हो भने यसलाई सफल बनाउन सकिन्छ ।” नेपाल शान्त, रमणीय, अतिथि सत्कारमा उत्कृष्ट, दाँतको उपचारमा दक्ष जनशक्ति, विदेशकै उपकरणको प्रयोग हुने हुँदा कम खर्चमा दाँचको उपचार र भ्रमण दुवै हुने उहाँको भनाई छ । डेन्टल टुरिजम अन्तर्गत रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघसँग मिलेर साईराम डेन्टलले अन्तक्र्रियात्मक कार्यक्रम समेत गरेको छ । पर्यटन व्यवसायी र नगरपालिका पनि यस कार्यक्रमलाई निरन्तर अगाडि बढाउने पक्षमा छन् ।
नेपालका ग्रामीण क्षेत्रसम्म दन्त चिकित्सा सेवा नपुगेका कारण जनचेतना जगाउनु पर्ने उहाँहरुको भनाई छ । कसरी दाँतका बिरामी घटाउन सकिन्छ भन्ने चिन्तामा डुवेको यो जोडी मध्येकी डा. सरु भन्नुहुन्छ “बच्चाको औषधि गुलियो हुने खाएपछि कुल्ला गर्न नभनिएकै कारण धेरै बालबालिकाको दाँत बिग्रिएको छ ।” गुलियो वस्तु खाएपछि कुल्ला गर्नुपर्छ भन्ने सन्देश मात्रै प्रवाह गर्न सक्ने हो भने पनि धेरै बालबालिकाको दाँतको समस्या कम गर्न सकिने उहाँको भनाई छ । सरुले भन्नुभयो “दाँतमा समस्या भएको बच्चा अन्य बच्चाको तुलनामा मानसिक र शारीरिक विकासमा पछि पर्छ ।”
त्यसो त नेपालका पाठ्यक्रमहरुमा यस सम्बन्धी विषय समावेश गर्नुपर्ने डा. अजय बताउनुहुन्छ । उहाँले भन्नुभयो “शिक्षक, विद्यार्थी र अभिभावकलाई यस सम्बन्धी ज्ञान दिनु जरुरी छ ।”
रोगको रोकथाम नै गर्नुपर्ने भन्दै उहाँले उपचार गर्न आवश्यक संख्यामा चिकित्सक नभएको, औजार उपकरण खरिद गर्न आवश्यक बजेट नपुग्ने र भौतिक पूर्वाधारमा ठूलो खर्च हुने हुँदा गाउँगाउँसम्म यो सेवा पुग्न नसकेको बताउनुहुन्छ । उपचार महंगो तर रोकथाम अति सस्तो हुने भन्दै डा. अजयले भन्नुभयो “जनचेतना जगाएर रोकथाम गर्न सकिन्छ, तर उपचार महंगो छ ।”
जनचेतना जगाउन सक्ने हो भने अहिलेको समस्यालाई ५० प्रतिशत कम गर्न सकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो “दिनको दुई पटक ब्रस र एक पटक डेण्टलफ्लस (एक प्रकारको धागोले दाँतको बीचमा रहेको खाना निकाल्ने) गर्नुपर्छ ।”
सामाजिक क्षेत्रमा काम गर्दै आएको यो जोडिले अब फाउण्डेशन मार्फत् सामाजिक कामलाई बृहत, व्यवस्थित र गाउँगाउँमा पु¥याउने योजना बनाएको छ ।