गल्छी–रसुवागढी सडक अवरुद्ध

काठमाडौँ , भदौ ६
गल्छी –रसुवागढी सडकमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ बोरोखोला नजिकै सडकमा ढुंगासहित पहिरो खसेपछि डेडिकेटेड डबल लेन सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख जेजुङ कार्कीले जानकारी दिए ।

देवीघाटदेखि महादेवफाँट हुँदै गल्छी जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सोही रुट वरिपरि वैकल्पिक सडक नहुँदा यातायातका सवारी साधन आवतजावत गर्न समस्या भएको छ । नुवाकोटको त्रिशूली हुँदै केरुङ जाने र गल्छी, धादिङबाट रसुवागढी जाने सवारी साधनलाई गल्छीबाट काठमाडौं पुग्न र टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

गल्छी–रसुवागढी सडक आयोजना कार्यालयका प्रमुख धुर्वकुमार श्रेष्ठले बुधबार राति पहिरो खस्दा ढुंगा हटाउन ‘ब्रेकर’ राख्नुपर्ने भएकाले सडक सञ्चालनमा आउन समय लाग्ने बताए ।

पहिरो पन्छाउन आज बिहानैदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको छ ।

सेयर गर्नुहोस्