चेपाङ् बालबालिकासंग युनियनको दर

चितवनः नेपाल प्रेस युनियन चितवनले चेपाङ् बालबालिकालाई दर खुवाएको छ । हरितालिका तिजको अबसरमा युनियनले आज रत्ननगर नगरपालिका वडा नम्बर ११ मा रहेको गामबेशीको चेपाङ् संरक्षण केन्द्रमा रहेका १५० जना बालबालिकालाई लट्टे खुवाएको हो ।

हरेक चाडपर्बमा मासु भात मात्रै खाने गरेका यहाँका बालबालिकालाई यो परिकार नौलो मानेर खाएका थिए । यस केन्द्रमा ४८ जना छात्रा र १०२ जना छात्रले लस्करै लाईन लागेर दर खाएका थिए । केन्द्रमा शिशु कक्षादेखि स्नातक पढ्नेसम्म रहेका छन् । उनीहरु मध्ये शहीद स्मृति क्याम्पसमा तीन जना, नेपाल माविमा पाँच जना, केन्द्रसँगै रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा ८२ जना र बाँकी पञ्चकन्या मावि जयमंगलामा अध्ययनरत छन् ।

केन्द्रका संस्थापक अध्यक्ष केपी किरण शर्माका अनुसार अधिकांश बालबालिकाले पहिलो पटक लट्टे खाएर तीज पर्व मनाएका हुन् । त्यहाँ चितवनको भरतपुर महानगरपालिका वडा नं. २९, ईच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिका रहेका छन् । त्यस्तै गोरखाको गण्डकी गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बालबालिका पनि रहेका छन् ।

उनीहरुलाई तीजमा दर खुवाएर नचाउन रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, नगरपालिकाका प्रवक्ता कुलप्रसाद सापकोटा पुग्नु भएको थियो । सँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवाल, नेपाल प्रेस युनियनका प्रदेश महासचिब पूर्ण शर्मा, मिडिया नेपालकी सचिब प्रतिमा कुमालसँगै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित जिल्लाका पत्रकारहरु उपस्थित भएका थिए ।

सेयर गर्नुहोस्