दक्षिण ललितपुरमा १७ को मृत्यु, १० जना बेपत्ता

काठमाडौं

ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा शुक्रबारदेखिको बाढी र पहिरोमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १० जना बेपत्ता भएका छन् ।

अधिकांश क्षेत्रमा बिजुली र टेलिफोन सम्पर्क अवरुद्ध छ, टेलिफोन सम्पर्क नहुँदा क्षतिको जानकारी पनि आउन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् । बाढी र पहिरोले दक्षिण ललितपुरका सबैजसो सडक अवरुद्ध भएको छ । चापागाउँभन्दा माथिल्लो क्षेत्रमा गएको पहिरोले लेले बजारसँगको सम्पर्क विच्छेद भएको छ ।

पहिरोले ठाउँठाउँमा बिजुलीको पोल ढलेकाले सबैजसो ठाउँमा विजुली आपूर्ति हुन नसकेको छैन । बिजुली नहुँदा टेलिफोन टावरहरु सञ्चालन भएका छैनन् र फोन सम्पर्कविच्छेद भएको छ । महांकाल गाउँपालिकाका प्रवक्ता जोनीकुमार न्यासुरका अनुसार महांकालमा मात्रै ११ जनाको मृत्यु भएको बताए ।

गोटिखेल बजारमा रहेको एक निजी विद्यालय र प्रहरी चौकीमा पहिरोले क्षति पुर्‍याएको छ । प्रहरीको गाडी नै बाढीले बगाएको उनले बताए ।

‘केही घाइतेहरुको उद्दारका लागि हेलिकप्टर लिएर जाने कुरा भएको छ’ प्रवक्ता न्यासुरले भने, ‘प्रहरीको सेट र वाकीटकी समेत नचल्दा त्यता के कस्तो छ, केही थाह हुन सकेको छैन ।’

सेयर गर्नुहोस्