राहत तथा पुनर्स्थापनाको काम तदारुकताका साथ गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राहत तथा पुनर्स्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सम्भव भएसम्म सवै उपाय लगाएर भएपनि प्राकृतिक विपदमा परेको नागरिकको राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै अवरुद्ध भएका सडक सञ्जालहरु यातायातका साथ चल्न सक्ने गरि मर्मत गर्न , हवाई भाडा बढ्न दिन, खाद्यान्नको मूल्यबृद्धि हुन नदिन सरकारको ध्यानाकर्षण गराएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गरि गन्तव्यमा पुर्‍याउनका लागि र थप जनधनको क्षति हुन नदिन सवै तयार गर्न पनि बैठकले सरकारलाई निर्देशन दिएको उनले बताए।

बैठकमा गृहमन्त्री रमेश लेखकले सवै मिलेर बिपतको चूनौतिको सामना गर्दैै नागरिकको सहज जिवनयापनमा लाग्नुपर्ने बताए। उनले खोज, उद्दार र प्रतिकार्यका लागि तयार गरेकै अवस्थामा प्राकृतिक प्रकोपको घटना भएकाले खोज, उद्दार प्रभावकारी रुपमा भएको उल्लेख गरे।

गृहमन्त्री लेखकले प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय भए अनुसार तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउने बताए। त्यस्तै घटनामा मृत्यु र वेपत्ता भएका नागरिकको परिवारलाई राहत दिने जानकारी दिए।

क्षतिग्रस्त संरचनाहरुको छिटो भन्दा छिटो निर्माण गर्न सरकारको ध्यान केन्द्रीत रहेको उनले बताए।

सेयर गर्नुहोस्